logo
२०८१ बैशाख १५ शनिवार



पाँच महिनामा विद्युत चुहावट तीन प्रतिशतले सुधार, धेरै चुहावट मधेस प्रदेशमा

अर्थ |
खुला |


पाँच महिनामा विद्युत चुहावट तीन प्रतिशतले सुधार, धेरै चुहावट मधेस प्रदेशमा


काठमाडौं, माघ ९ गते । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा वितरण तर्फको विद्युत चुहावट २.८२ प्रतिशतले सुधार भएको छ । गतवर्ष ११.९२ प्रतिशत रहेको विद्युत चुहावट हाल २.८२ प्रतिशतले घटाएर ९.१० प्रतिशतमा झारेको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ को असारसम्ममा नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले यस्तो उपलव्धी हासिल गरेको जनाएको छ । विद्युत चुहावट बारे संकलन गरेको तथ्याङक सार्वजनिक गर्दे प्राधिकरणले यस्तो तथ्याङक सार्वजनिक गरेको हो ।

विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फ रहेको र यसलाई नियन्त्रण गर्नु पहिलो काम रहेको जनाउदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसको सुधारलाई प्राथमिकता दिएको बताउनुभयो । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको घिसिङले बताउनुभयो । यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको उहाँले बताउनुभयो ।

‘हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसनको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम अगाडि बढाइकोले चुहावट घटेको प्राधिकरणले जनाएको छ । सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो ।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।


सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेशमा
प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १२.९९ प्रतिशत छ । अघिल्लो वर्ष १७.३६ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४३.८२ प्रतिशत विद्युत चुहावट छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट १०.१७ प्रतिशत थियो ।

यता बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३९.८० प्रतिशत थियो । गतवर्ष त्यस केन्द्रको चुहावट ५३.०७ प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गतवर्ष ४२.२७ प्रतिशत रहेकोमा यस वर्ष ३७.६१ प्रतिशत छ । औद्योगिक ग्राहक धेरै रहेकोले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट ०.४८ प्रतिशत छ । अघिल्लो वर्ष केन्द्रको चुहावट १.६७ प्रतिशत थियो ।
प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत चुहावट सुनसरीको इनरुवा वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट २४.८१ प्रतिशत छ । अघिल्लो वर्ष २७.२२ प्रतिशत थियो ।
बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको ३०.११ प्रतिशत विद्युत चुहावट छ । गत त्यस केन्द्रको २६.५८ प्रतिशत चुहावट थियो ।
बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रमध्ये सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी ३१.९३ प्रतिशत चुहावट छ । अघिल्लो वर्ष त्यस केन्द्रको २५.१२ प्रतिशत चुहावट थियो । त्यसपछि सिन्धुपाल्चोककै हेलम्बू वितरण केन्द्रको विद्युच चुहावट ३०.७८ प्रतिशत छ । गतवर्ष केन्द्रको चुहावट ९.२८ प्रतिशत थियो ।
गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १३ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट म्याग्दी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष १८.९२ प्रतिशत रहेकोमा यस वर्ष १५.५५ प्रतिशतमा झरेको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट कपिलवस्तुको तौलिहवा वितरण केन्द्रको २५.५६ प्रतिशत छ । गतवर्ष केन्द्रको चुहावट १४.८४ प्रतिशत थियो ।
लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका १४ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट प्यूठान वितरण केन्द्रको १९.४२ प्रतिशत छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १९.९० प्रतिशत थियो ।
कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको  छ । केन्द्रको चुहावट गतवर्ष ३१.२५ प्रतिशत रहेकोमा यस वर्ष २७.१३ प्रतिशतमा झरेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत ११ वटा वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी चुहावट अछाम वितरण केन्द्रको छ । गतवर्ष १८ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २०.४४ प्रतिशत पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?