logo
२०८१ जेष्ठ १ मंगलवार



घट्यो विदेशी मुद्रा सञ्चिति

अर्थ |


घट्यो विदेशी मुद्रा सञ्चिति


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३० गते । विदेशी मुद्राको सञ्चिति घटेको छ । देशभित्र रहेको विदेशी मुद्रा सञ्चितिको अवस्थाले करिब साढे सात महिनाको वस्तु आयात तथा छ महिना आठ दिनको वस्तु तथा सेवा आयात मात्रै धान्न सक्ने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०७८ मङ्सिर मसान्तमा राष्ट्रको ढुकुटीमा १२ खर्ब १४ अर्ब तीन करोड रुपियाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ जुन पाँच महिनाअघि अर्थात् असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपियाँ बराबर रहेको थियो । अमेरिकी डलरको अवस्थालाई हेर्दा पनि मङ्सिर मसान्तसम्म जम्मा १० अर्ब तीन करोड मात्र रहेको छ । असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या घटेसँगै विप्रेषण आप्रवाह पनि घटेको छ । यस अवधिमा एक लाख ३१ हजार ८२ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.७ प्रतिशतले कम हो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ ।

वैदेशिक रोजगारीमा आएको शिथिलताले विप्रेषण आप्रवाहमा ६.८ प्रतिशतले कमी आएर तीन खर्ब ८८ अर्ब ५८ करोड रुपियाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई तीन अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

ह्वात्तै मूल्य वृद्धि
चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैङ्कले देखाएको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थको ५.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ८.२५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको मङ्सिर मसान्तको तुलनामा यो वर्षको सोही अवधिमा घिउ तथा तेलमा साढे २८ प्रतिशत, यातायात, दाल तथा गेडागुडीमा १६.२५ प्रतिशत, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहमा ११.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

व्यापार घाटा बढ्यो
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा जम्मा सात खर्ब ३५ अर्ब ४९ करोड रुपियाँको व्यापार घाटा भएको राष्ट्र बैङ्कले जनाएको छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात १२.३ प्रतिशत पुगेको छ जब कि अघिल्लो वर्ष यस्तो अनुपात ९.५ प्रतिशत मात्र थियो ।

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरको अवधिमा एक खर्ब दुई अर्ब ९२ करोड रुपियाँको वस्तु निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा ५.१ प्रतिशतले बढेको थियो । यस्तो निर्यात सबैभन्दा बढी भारततर्फ १३८ प्रतिशत रहेको छ भने अन्य मुलुकमा २८.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुटका सामानको निर्यात बढेको छ । अलैँची, चिया, जस्तापाता, तार र तामाको तारलगायतको निर्यात घटेको छ ।

चालू आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ४४.६ प्रतिशत, चीनबाट ५७.८ प्रतिशत तथा अन्य मुलुकबाट भएको आयात १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्तीलगायतका वस्तुको आयात घटेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?