logo
२०८१ जेष्ठ ५ शनिवार



अर्गानिक प्रमाणीकरण गर्न समस्या

अर्थ |


अर्गानिक प्रमाणीकरण गर्न समस्या


कोकिला ढकाल

इलाम, मङ्सिर २७ गते । तेस्रो मुलुक निर्यात हुने नेपाली चियाको अर्गानिक प्रमाणीकरण र नवीकरण नहुँदा चिया निर्यातमा समस्या आएको चिया किसान र व्यवसायीले बताएका छन् । अर्गानिक प्रमाणीकरणको मापदण्ड पूरा गरेर चिया निर्यातका लागि नेपाल चिया तथा कफी विकास बोर्डमार्फत पहिलो चरणमै लोगो पाएको सूर्योदय नगरपालिका–११ स्थित ओएसिस टी स्टेटले दुई वर्षदेखि अर्गानिक प्रमाणीकरण नवीकरण गर्न सकेको छैन ।

जर्मनीको सेरेर संस्थाबाट अर्गानिक प्रमाणीकरण भएको यो टी स्टेटले नवीकरण गर्न नसक्दा तेस्रो मुलुक निकासी हुँदै आएको अर्थोडक्स चिया निर्यात गर्नै नसकेको सो टी स्टेटका सञ्चालक ज्योति अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष दुई हजार किलो तयारी चिया तेस्रो मुलुक निकासी गरेको यो टी स्टेटले पछिल्लो वर्ष एक किलो पनि पठाउन नसकेको अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, “कोभिडका कारण अघिल्लो वर्ष चिया निकासी हुन सकेन, चिया नगएपछि आर्थिक भार बढी हुँदा नवीकरण गर्नै सकिएन । ” हरेक वर्ष नवीकरण गर्न करिब आठ लाख रुपियाँ खर्च हुने बताइएको छ ।

कोभिडका कारण पछिल्लो दुई वर्ष चिया निर्यात गर्न धेरै मुस्किल भएको जानकारी गराउँदै इलाम माईपोखरीको जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बाले भन्नुभयो, “गत वर्षकै तयारी चिया गोदाममा थन्किएको छ । यो वर्ष पनि माग आएको छ, कसरी पठाउने भन्ने समस्या छ, विदेशीको पहिलो सर्त नै अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र हुन्छ । ”

प्रमाणीकरणका लागि सम्बन्धित संस्थामा निवेदन दिएपछि तीन वर्षसम्म निरन्तर अनुगमन हुने गरेको छ र त्यसको खर्च किसान आफैँले बेहोर्नुपर्छ । खर्चिलो भए पनि राम्रो मूल्य पाउन र विदेश निर्यात गर्न अर्गानिक प्रमाणीकरणको विकल्प पनि नभएको सूर्योदय नगरपालिका–८ स्थित सयपत्री चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

अहिलेसम्म साँखेजुङस्थित हिमालयन साङ्ग्रिला चिया कारखाना, सुन्दरपानीको गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजङ्घा टी स्टेट, माईपोखरीको सन्दकपुर चिया कारखाना, जसवीरे चिया कारखाना, देउमाईको ब्रदर्स चिया उद्योगले विदेशी संस्थाहरू नासा, आईओएम र सेरेसबाट अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र लिइसकेका छन् ।

यस्तै साँखेजुङको उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, सुन्दपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणीकरण गरिसकेका छन् । साँखेजुङको ग्रिनहिल, चमैताको तीनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जितपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाको अर्गानिक प्रमाणीकरणका प्रक्रिया युरोपियन अर्गानिक एजेन्सी सेरेस र आईओएममा अन्तिम चरणमा रहेको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ ।

इलामका मात्रै १६ वटा सहकारी संस्थाले अर्गानिक प्रमाणीकरण गरिसकेका छन् तर समस्या नयाँ प्रमाणीकरण गराउने र नवीकरण गर्नेकै रहेको सङ्घका महासचिव रविन राईले बताउनुभयो । अर्गानिक प्रमाणीकरणका लागि किसान र उद्योगलाई ७० प्रतिशतसम्म सहयोग गर्न सकिन्छ कि भन्ने सोच रहेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?