logo
२०८१ बैशाख १४ शुक्रवार



गोरुको सहायताले दाइँ लगाउने परम्परा हराउँदै

खुला |
प्रदेश |
समाज |


गोरुको सहायताले दाइँ लगाउने परम्परा हराउँदै



रेखीराम राना
पाल्पा, मङ्सिर २३ गते । परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने क्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुने अवस्थामा पुगेको हो । पछिल्लो दश वर्षयता धान स्याहार्न हाते ट्याक्टर, ट्याक्टर र थे्रेसरको प्रयोग बढेको छ ।

यसले धान स्याहार्ने बेलामा प्रयोग हुने परम्परागत प्रविधि र परम्परागत प्रचलन लोप हुने अवस्थामा पुगेको स्थानीय किसानले बताएका छन् । केही दशक अघिसम्म जिल्लाको अधिकांश स्थानमा धान पराल स्याहार्न मानिस र गोरुको प्रयोग हुँदै आएको थियो । धान झाटेर बाँकी रहेका धान झार्न र पराल माड्न गोरुबाट दाइँ लगाउने प्रचलन थियो ।

अहिले दाइँ लगाउने प्रचलन हराउँदै गएको माथागढी–१, का किसान पूर्णबहादुर थापाले बताउनुभयो । ‘दश वर्षअघिसम्म गोरुको सहायताले दाइँ लगाउने चलन थियो थापाले भन्नुभयो पराल र धान स्याहार्न मान्छे हुन्थे, अहिले धान झार्न र पराल माड्न थ्रेसरको प्रयोग बढेको छ ।’ पराल माड्न (मेह) मियो बनाउने र त्यसैमा आठ÷दश वटा गोरु घुमाउने चलन थियो ।

पहिले धान पाक्नासाथ धान काटेर मुठा बनाई झाँट्ने, गोरु धपाउँदै, पराल माड्दै, परालको भारी बनाउन मान्छेको भीड हुन्थ्यो । अहिले मानिसले गोरु समेत पाल्न छाडेकाले दाइँ हाल्ने परम्परामा कमी आएको किसानको भनाई छ । पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको माडी रुप्सेका किसान प्रेम कुमालले भन्नुभयो । ‘केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ, उहाँले भन्नुभयो ।’

गाउँ छिटो र सजिलोको लागि जोत्नका लागि ट्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्याक्टरको प्रयोग बढेको छ । धान झाँट्न र दाँइ गर्न एकैचोटी हुने भएकाले थ्रेसरकै प्रयोग गर्ने किसानको सङ्ख्या बढेको छ । जिल्लाको रामपुरफाँट, अर्गलीफाँट, माडीफाँट, कचलफाँट, झडेवाफाँट र सर्देवाफाँट लगायतका ठाउँका किसानले ट्याक्टर र थ्रेसरको प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताउनुभयो ।

‘श्रम, पैसा र समयको बचत हुने भएका किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै आएका छन्, कृषि यन्त्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले समेत अनुदान दिदैँ आएको छ’ उहाँ बताउनुहुन्छ । कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै जाने हो भने केही वर्षभित्रै जिल्लामा गोरुको सहायताले दाइँ गर्ने प्रचलन हराउँदै जानसक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?