logo
२०८१ जेष्ठ ५ शनिवार



उडान विस्तार

अर्थ |


उडान विस्तार


हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर २३ गते । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा सेवा विस्तार गरेको छ ।
सडक यातायात नजोडिएका यी जिल्लामा सहुलियत दरमा उडान भरेर जनतालाई सेवा प्रदान गर्न उडान थपिएका हुन् । नेपाल एयरलाइन्स हुम्लाका प्रमुख दानबहादुर सुनारले एउटा उडानबाट सुरु भएको सिमकोटका लागि अहिले हप्तामा चारवटा उडान भइरहेको जानकारी दिनुभयो । यात्रुको चापलाई ध्यानमा राखेर उडान विस्तार गरेको बताउनुभयो ।

नेपालगञ्जबाट हुम्लाका लागि अन्य निजी विमान सेवा कम्पनीहरूले प्रतियात्रु चार्टर फ्लाइटको ११ हजार रुपियाँ भाडा लिँदै आएकोमा नेपाल एयरलाइन्सले सात हजार ३१५ रुपियाँ मात्र लिने गरेको छ ।
नेपाल एयरलाइन्स नेपालगञ्जका प्रमुख किरण श्रेष्ठले सरकारका लक्ष्यअनुसार दुर्गमका जनतालाई सेवा प्रदान गर्नकै लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा सहुलियत उडान थप गरिएको बताउनुभयो । उहाँले हुम्ला र मुगुमा हप्ताको चारवटा उडान, जुम्लाका लागि दुई उडान सुरु भएको जानकारी दिनुभयो ।

कर्णालीको डोल्पाको जुफालका लागि उडान सुरु गर्न अनुमतिका लागि लेखेर पठाएको र अब चाँडै उडान सुरु हुने उहाँको भनाइ छ । उहाँले बाजुरा, दिपालय, बझाङ, साँफेबगर र डोटीमा पनि उडान सुरु भएको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?