logo
२०८१ बैशाख १४ शुक्रवार



रासायनिक मलको चरम अभाव

अर्थ |


रासायनिक मलको चरम अभाव


धनगढी समाचारदाता

धनगढी, मङ्सिर १५ गते । बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो नोक्सान बेहोरेका कैलालीका किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव खेप्न बाध्य छन् । यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन् ।
७० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र बाँकी ३० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी लिएकोे साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल छैन ।
गहुँ खेतीका लागि मल नपाएपछि किसान समस्यामा छन् । समय घर्किरहेकाले मलबिनै खेतमा गहुँ छर्न लागेको उनीहरूको भनाइ छ । रासायनिक मलको आशैआशमा समय घर्किंदै गएकाले मलबिनै गहुँ छर्न लागेको धनगढी उपमहानगरपालिका–५ का कृषक धोखे रानाले बताउनुभयो ।
मलका लागि धेरै दिन सहकारीमा दौडधुप गरेँ, उहाँले भन्नुभयो । तर, मल नपाएपछि त्यत्तिकै गहुँ छर्न बाध्य भएको छु । सक्ने कैयौँले लुकिछिपी भारतबाट मल ल्याएर खेतमा हालिरहेका छन् । तर, मैले भारतबाट ल्याउन सकेन । यहाँ पनि नपाएपछि त्यत्तिकै गहुँ छरिरहेको छु ।
कात्तिक पहिलो साता आएको बाढीले धानबालीमा नोक्सान गरेपछि कैयौँ किसानले यस वर्ष धान भिœयाउन पाएनन्् । भएको धानबालीमा बाढीले क्षति गरेपछि उनीहरूले गहुँखेती राम्ररी गर्ने सपना देखेका थिए । तर, गहुँ छर्ने सिजनमा रासायनिक मलको चरम अभावले किसानको मन अमिलो भएको छ ।

धानबालीमा क्षति भएपछि राहत दिने आश्वासन बाँडेको सरकार किसानको समस्याप्रति गम्भीर नरहेको कैलारी गाउँपालिका–२, बसौटीका कृषक लक्ष्मीनारायण चौधरीले गुनासो गर्नुभयो । उहाँले रासायनिक मल अभावमा गहुँ छर्न ढिलाइ भइरहेको उल्लेख गर्नुभयो ।
नेपालबाट मल उपलब्ध नभएपछि कतिपय किसानले लुकिछिपी भारतबाट डीएपी मल ल्याएर गहुँका लागि खेतमा हालिरहेका छन् । आफ्नो देशमा मल नपाएपछि लुकिछिपी भारतबाट ल्याउन बाध्य भएको उनीहरुको भनाइ छ । नेपाली किसान सीमावर्ती भारतीय बजार पुग्न थालेपछि त्यहाँ पनि डीएपीको मूल्य बढाइएको किसानले जनाएका छन् ।

अहिले सुदूरपश्चिम प्रदेशभर नै मलको चरम अभाव छ । भैरहवाको प्रादेशिक कार्यालयबाट रासायनिक मल नठाउँदा समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका निमित्त प्रमुख रूपबहादुर कुँवरले बताउनुभयो । उहाँले साउनदेखि नै ताकेता गर्दै आए पनि मल नपठाउँदा गहुँ खेतीको सिजनमा रासायनिक मलको अभाव भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार गहुँ खेतीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले सुदूरपश्चिमभरि पाँच हजार मेट्रिक टन डीएपी र चार हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्नुपर्ने हो । तर, डीएपी अहिलेसम्म ८४ टनमात्रै वितरण गर्न सकिएको छ । सो कार्यालयले यहाँका सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ ।

३० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि भैरहवाबाट मल नआउँदा अभाव रहेको जनाएको छ । सो कार्यालयका प्रमुख केशवप्रसाद पाण्डेयले तत्काल डीएपी मल आउने सम्भावना नरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमै डीएपी मलको अभाव छ । त्यसैले यहाँ मागअनुसार तत्काल डीएपी आपूर्ति हुने सम्भावना छैन, उहाँले भन्नुभयो । अलि–अलि युरिया मल आइरहेको छ । आएको युरिया मल किसानलाई वितरण गरिरहेका छौँ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?