logo
२०८१ बैशाख १५ शनिवार



रोमानियाको भिसा नेपालमै दिन आग्रह

अर्थ |


रोमानियाको भिसा नेपालमै दिन आग्रह


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १० गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीका लागि आवेदन र भिसा दिने व्यवस्था गर्न नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँग आग्रह गर्नुुभएको छ । बिहीबार मन्त्री श्रेष्ठ र राजदूत डेनियलाबीच भएको भेटमा सो आग्रह गरिएको हो । नेपालबाट रोमानिया जान चाहनेहरू आवेदन र भिसाका लागि भारत जानुुपर्ने भएकाले अब नेपालमै त्यसको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँहरूबीचमा दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि नेपालबाट रोमानिया जाने नेपालीको सङ्ख्या बढिरहेको चर्चा गर्नुहुँदै रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको बताउनुभयो । नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गर्नुुभयो ।

पछिल्लो पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको सङ्ख्या सात हजार ६१८ जना रहेका छन् । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका तर्फबाट जर्मनीको बर्लिन र रोमानियाका तर्फबाट भारतको नयाँदिल्लीमा रहेको दूतावासमार्फत कूटनीतिक सम्बन्ध कार्यान्वयन भइरहेको छ ।

युरोपेली मुलुक रोमानियामा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले नेपालीका लागि उपयुक्त गन्तव्य हुन सक्ने वैदेशिक रोजगारसम्बन्धी विज्ञको भनाइ छ । राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । नवनियुक्त राजदूत डेनियला राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नयाँदिल्लीबाट काठमाडौँ आउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?