logo
२०८१ बैशाख १४ शुक्रवार



दशैँपछिको पुँजी बजारमा उत्साह

अर्थ |


दशैँपछिको पुँजी बजारमा उत्साह


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै नेप्से परिसूचक १७.५९ अङ्कले बढेर दुई हजार ६५६.९७ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन तथा असोजको अन्तिम दिनको कारोबारमा ११३ कम्पनीको सूचक उकालो लागेको छ भने ६१ कम्पनीका सेयर मूल्य घटेको छ १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
समूहगत रूपमा हेर्दा सामूहिक लगानी कोष समूहबाहेक सबैमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्र ३.५१ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहमा करिब २ प्रतिशतको वृद्धि भएको छ । सामूहिक लगानी कोषमा ०.७५ प्रतिशतको गिरावट आएको छ ।
आइतबारको कारोबारमा सबैभन्दा आकर्षक लाभ चन्द्रागिरि हिल्सका लगानीकर्ताले पाएका छन् । हिल्सको प्रतिकित्ता सेयर मूल्य ८८ रुपियाँले बढेर एक हजार ३५० पुगेको छ । हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता २० रुपियाँ
बढेको छ ।
घलेम्दी हाइड्रोको १६ रुपियाँ वृद्धि छ । कामना सेवा विकास बैङ्कको सेयर मूल्य प्रतिकित्ता २७.९० रुपियाँले बढेको छ । सिटिजन्स् म्युचअल फन्ड १ र २ दुवैको घटेको छ । त्यस्तै बोटलर्स नेपाल तराईका लगानीकर्ताले प्रतिकित्ता ४१३ रुपियाँ गुमाएका छन् ।
आइतबार कुल २१ हजार ३२८ करोबारबाट ४७ लाख ६० हजार २९५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ९७ लाख रुपियाँभन्दा धेरैको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?