logo
२०८१ जेष्ठ ४ शुक्रवार



‘फाइलमा होइन, योजनामा लगानी बढाइन्छ’

अर्थ |


‘फाइलमा होइन, योजनामा लगानी बढाइन्छ’


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २४ गते । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रको विकासका लागि फाइलमा नभएर योजनामा लगानी बढाउने
बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा उहाँले पहुँचका भरमा फाइल देखाएर बजेट पार्ने परिपाटीको अन्त्य गरिने बताउनुभएको हो ।
“फाइलमा लगानी गरेर अनुत्पादक भयो, त्यस्तो लगानी गरेर हुँदैन । पहुँचका भरमा एउटाले फाइल ल्याउँछ । यहाँ स्कुल छ भन्छ अनि पैसा लान्छ । त्यसको अर्थ छैन,” उहाँले भन्नुभयो, ‘त्यसैले योजनामा, मिसनमा, परिणाममा, भविष्यमा, समयको सुरक्षाका लागि लगानी गर्नुपर्छ । ” शिक्षाले उत्पादन तथा परिणाम दिनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । उहाँले कतिपय बिनापरिणामका ‘फाइल’मा लगानी भइरहेकोप्रति चिन्तासमेत व्यक्त गर्नुभयो । “हामीले धेरै बाटो त खन्यौँ तर प्रतिफल कति दिइरहेका छन्, यो बुझ्नुपर्छ,” उहाँले भन्नुभयो, “सडक निर्माणजस्तै प्रतिफल दिने विद्यालयहरूमा लगानी गरौँ । ”
मन्त्री शर्माले जनसङ्ख्या र आवश्यकताका आधारमा विद्यालयहरू स्थापना गर्नुपर्नेसमेत बताउनुभयो । कहाँ, कति जनसङ्ख्याका लागि कस्तो विद्यालयको आवश्यकता हुन्छ, विज्ञको रायअनुसार विद्यालय निर्माण गर्नुपर्ने उहाँको धारणा रहेको छ । उहाँले विद्यालय र विश्वविद्यालयहरू राष्ट्रलाई परिणाम दिने खालको हुनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?