logo
२०८१ जेष्ठ १ मंगलवार



माथिल्लो त्रिशूली–१ को निर्माण सुरु

अर्थ |


माथिल्लो त्रिशूली–१ को निर्माण सुरु


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३ गते । रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । भूमिगत विद्युत् गृह जान प्रयोग हुने २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि मङ्गलबार चट्टान फोर्न पहिलो विस्फोट गराएर काम थालिएको आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

आयोजनाले जनाएको छ मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण सुरु गरिएको छ । आयोजना स्थलमा क्रसर प्लान्ट तथा ब्याचिङ प्लान्टको स्थापना, निर्माण सामग्रीको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेलीब्रिजको निर्माण, बाँधलगायतका संरचना निर्माणका लागि रुख कटान, सर्च ट्याङ्कतर्फको पहुँच सडक निर्माणलगायतका काम धमाधम भइरहेको जनाइएको छ । निर्माणमा अहिले दुई सय श्रमिक आयोजना स्थलमा खटिएका छन् । प्रत्यक्ष वैदेशिक लगानीमा बन्न लागेको सो आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान ह्वावी इन्डस्ट्रिज एन्ड कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियाली सरकारको स्वामित्वमा रहेको कोएन अन्तर्राष्ट्रिय वित्त निगमलगायतको सेयर स्वामित्व छ । साथै आयोजना प्रभावित स्थानीयवासीका लागि अधिकतम १० प्रतिशतसम्म सेयर लगानी सुनिश्चित गरिएको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

निर्माण अवधिको ब्याजसहित कुल अनुमानित ६४ करोड ७३ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको रहेको आयोजनामा नौ अन्तराष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ ।

आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा विद्युत् उत्पादन हुनेछ ।
उत्पादित उर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । आयोजना २०८३ मङ्सिरभित्र सक्ने कम्पनीको लक्ष्य छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?