logo
२०८१ जेष्ठ ५ शनिवार



चारवटा चिज केन्द्र सञ्चालनमा

अर्थ |


चारवटा चिज केन्द्र सञ्चालनमा


हेमनाथ खतिवडा

रसुवा, साउन ३ गते । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण उत्पादन बन्द रहेका रसुवाको चारवटा चिज उत्पादन केन्द्र पुनः सञ्चालनमा आएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको लाङटाङ, गत्लाङ, चन्दनबारी र धुन्चे लेकको चिज उत्पादन केन्द्रले उत्पादन थालेका हुन् ।
दुग्ध विकास संस्थान मातहतमा रहेका ती केन्द्रमा अहिले चिज तथा मक्खन तीन हजार सय किलोभन्दा बढी उत्पादन भएको छ । चिज उत्पादनको काम गत वैशाख १ देखि नै सञ्चालनमा ल्याउनपर्ने तयारी भए पनि कोरोनाको जोखिम कायमै रहेको र कोरोना सङ्क्रमणकै कारण धुन्चे केन्द्रका प्रमुख जितबहादर जिरेलको मृत्यु भएपछि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाले गर्दा चिज उत्पादन कार्य यो वर्ष दुई महिना धकेलिएको थियो । कोरोनाको त्रास कर्मचारी एवं चौँरीपालक किसानमा क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चिज तथा मक्खन उत्पादन थालिएको लाङटाङ चिज उत्पादन केन्द्रका प्रमुख ग्याल्बो लामाले बताउनुभयो ।
चारवटा चिज उत्पादन केन्द्रमा एक हजार नौ सयभन्दा बढी चौँरीगाईको दैनिक दुई हजार १५० लिटरभन्दा बढी दूध सङ्कलन भइरहेको छ । चौँरीपालक किसानले किसानले दूध आपूर्ति गरेबापत तरको हिसाबमा प्रतिलिटर सय पाउने गरेका छन् । तीन महिना मात्र सञ्चालनमा ल्याउने दुग्ध विकास संस्थानको निर्देशनअनुरूप चन्दनबारी केन्द्रले सात हजार केजी चिज र एक हजार पाँच सय किलो मक्खन तथा लाङटाङ केन्द्रले छ हजार किलो चिज र दुई हजार किलो मक्खन उत्पादन गर्ने लक्ष्य लिएको छ ।
त्यसैगरी धुन्चे केन्द्रले आठ हजार किलो चिज र दुई हजार चार सय किलो मक्खन उत्पादनको लक्ष्य राखेको छ । उच्च हिमाली क्षेत्रमा चरन गर्ने चौँरीगाईको दूधबाट बनेको चिज पोसिलो र अर्गानिक हुने भएकाले स्वदेशी तथा विदेशी पर्यटकले खरिद गर्ने हुनाले स्थानीय बजारमै बढी मात्रामा खपत हुँदै आएको छ ।
यस क्षेत्रको चरनमा औषधिजन्य जडीबुटी, घाँस पाइने र उक्त घाँस चौँरीगाईले खाने भएकाले यहाँ उत्पादित चिज पूर्ण रूपले अर्गानिक हुने होटल व्यवसायी लाक्पा लामाले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?