logo
२०८१ बैशाख २३ आईतवार



अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न चिया उद्यमीको आग्रह

अर्थ |


अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न चिया उद्यमीको आग्रह


कोकिला ढकाल

इलाम, असार २४ गते । तेस्रो मुलुक निर्यात हुने नेपाली चियाको अर्गानिक प्रमाणीकरणमा सहयोग गर्न किसान र उद्योगीले सरकारसँग आग्रह गरेका छन् । चिया उत्पादन र निर्यातको मुख्य सिजनको समयमा निषेधाज्ञाले असहज हुँदा अर्गानिक प्रमाणीकरण र नवीकरणका लागि सरकारसँग आग्रह गरेका हुन् ।
विदेशी मुद्रा आर्जन गर्ने भए पनि निर्यात गर्ने चियाका सर्त पूरा गर्न भने किसानलाई निकै कठिन हुन थालेको छ । नवीकरणका लागि मात्र वार्षिक छ लाख रुपियाँसम्म खर्च गर्नुपर्दा पछिल्लो दुई वर्ष त धेरै मुस्किल भएको इलाम माईपोखरीस्थित जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बाले बताउनुभयो ।
“गत वर्षकै तयारी चिया गोदाममा थन्किएको छ । यो वर्ष पनि माग आएको छ, कसरी पठाउने भन्ने समस्या छ । विदेशीको पहिलो सर्त नै अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र हुन्छ,” सुब्बा भन्नुहुन्छ, “यसपटक पनि चिया बिक्री भएको छैन । त्यसकारण पनि प्रमाणीकरणका लागि सरकारसँग अलि बढी अपेक्षा गरेका छौँध्र” अर्गानिक प्रमाणीकरण गराउन खर्चिलो भएकाले पनि किसानले पाउने हरियो पत्तीको मूल्य पनि घटाउनुपर्ने बाध्यता रहेको सुब्बाको भनाइ छ ।
ग्रिन टी, गोल्डन टी, ह्वाइट टी, ओलङ टी गरी विभिन्न स्वादमा बनाइने चिया विदेशीले धेरै मन पराए पनि उनीहरूको एउटै मात्र सर्त अर्गानिक चियाको मापदण्ड पु¥याउन भने किसानले लाखौँ खर्चेर पनि वर्षौं कुर्नुपर्ने हुन्छ । विदेशीले अर्गानिक चिया नै रुचाउन थालेपछि साना किसान, सहकारी तथा उद्योग आफैँले चियालाई पूर्ण अर्गानिक बनाउने अभ्यास गरिरहेका छन् तर कम्तीमा तीन÷चार वर्ष अर्गानिकको यो अभ्यास गरिरहँदा खर्च धान्न भने निकै मुस्किल पर्ने गरेको किसान बताउँछन् ।
प्रमाणीकरणका लागि पनि सम्बन्धित संस्थामा निवेदन दिएपछि त्यस किसान र चियाको तीन वर्षसम्म निरन्तर अनुगमनको खर्च किसान आफैँले बेहोर्नुपर्छ तर राम्रो मूल्य पाउन र विदेश निर्यात गर्न अर्गानिकको विकल्प पनि नभएको तीनजुरे सहकारी संस्थाका सचिव सोम शर्माले बताउनुभयो
अहिलेसम्म साँखेजुङस्थित साङ्ग्रिला चिया कारखाना, सुन्दरपानीको गोर्खा टी स्टेट, पाँचथरको कञ्चनजङ्घा टी स्टेट, माईपोखरीको सन्दकपुर चिया कारखाना, जसवीरे चिया कारखाना, देउमाईको ब्रर्दस चिया उद्योगले विदेशी संस्थाहरू नासा, आईओएम र सेरेसबाट अर्गानिक प्रमाणीकरणको प्रमाणपत्र लिइसकेका छन् ।
यस्तै साँखेजुङको उच्च पहाडी चिया उत्पादक सहकारी संस्था, गोर्खा टी स्टेटअन्तर्गत सुन्दरपानी चिया उत्पादक सहकारी संस्था, कोलबुङस्थित इको सहकारी संस्था, पञ्चकन्याको हिमशिखर चिया उत्पादक सहकारी संस्थाले नासाबाट अर्गानिक प्रमाणीकरण गराइसकेका छन् । साँखेजुङको ग्रिन हिल, चमैताको तीनजुरे सहकारी संस्था, फिक्कलको इलामेली चिया उत्पादक सहकारी संस्था, जीतपुरको अजम्बरे, देउराली र नवमी चिया उत्पादक सहकारी संस्थाले भने अर्गानिक प्रमाणीकरणका लागि युरोपेली अर्गानिक एजेन्सी सेरेस र आईओएमबाट भर्खरै मात्र अर्गानिक प्रमाणीकरण अन्तिम चरणमा रहेको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । “इलामका मात्रै १६ वटा सहकारी अर्गानिक प्रमाणीकरण गरिसकेका छन् तर समस्या अब नयाँ प्रमाणीकरण गराउने र नवीकरण गर्नेहरूकै छ,” सङ्घका महासचिव रविन राईले भन्नुभयो ।
यता बजेट कार्यान्वयनका लागि अब कार्यविधि निर्माणमा जुट्नुपर्ने अवस्था रहेको नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?