logo
२०८१ बैशाख १४ शुक्रवार



वाग्मती प्रदेशः प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज   

अर्थ |


वाग्मती प्रदेशः प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज   
सांकेतिक


वाग्मती, असार १ गते ।  कोभिड-१९ बाट अर्थतन्त्रमा परेको प्रभाव लगायतलाई मध्यनजर गर्दै वाग्मती प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ खारेज गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८-७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै सो कार्यक्रम खारेज गरेको घोषणा गर्नुभयो ।    
    
 प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमको नाममा विनियोजन हुने बजेटको चरम दुरुपयोग हुने गरेको गुनासो आउने गरेको थियो । गत वर्ष सरकारले सो कार्यक्रममार्फत प्रदेश सभा सदस्यले रु ३ करोडका दरले खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको थियो ।    
    
 सङ्घीय सरकारको सांसदमार्फत खर्चहुने निर्वाचन क्षेत्र विकास कोषसँग मिल्दोजुल्दो हुने गरी सरकारले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ ल्याइएको थियो । सरकारले सो कार्यक्रम खारेज गरेर कोभिड—१९ को प्रभाव न्यूनीकरण र जनताको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम’ कार्यान्वयन गरिने मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो, “यो कार्यक्रममार्फत भौतिक पूर्वाधार निर्माणलगायत स्वास्थ्य पूर्वाधार संरचना र उपकरण खरिदजस्ता कोभिड—१९ को प्रभाव न्यूनीकरण गर्ने प्रकृतिका आर्थिक पुर्नस्थापनाका कार्यक्रमहरु सञ्चालन गर्न रु २ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छु ।”    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?