logo
२०८१ बैशाख २१ शुक्रवार



निषेधाज्ञामा बजारभाउ सामान्य बढ्यो

अर्थ |


निषेधाज्ञामा बजारभाउ सामान्य बढ्यो


 

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ १९ गते । बजारभाउ निषेधाज्ञामा सामान्य बढेको छ । खाद्यान्न मौज्दात पर्याप्त भए पनि कोरोनाको कारण मूल्य बढेको वाणिज्य विभागका सूचना अधिकारी शिवराज सेढाईले गोरखापत्र अनलाइनलाई बताउनुभयो । उहाँका अनुसार बजार मूल्य वृद्धिमा तेलको मूल्य भने अकासिएको र त्यसको अनुगमन भइरहेको छ । मूल्य वृद्धिबारे सूचना अधिकारी सेढाईले भन्नुभयो, ‘सामान्यः बजार मूल्य बढेकै हो, हामी निरन्तर अनुगमनमा छौँ ।’ उहाँले अर्को हप्तादेखि किराना पसल खुल्ने बताउनुभयो ।

अनुगमनको क्रममा दैनिक औषधी पसललाई कारबाही गर्ने गरेको भन्दै उहाँले भन्नुभयो, ‘स्वास्थ्यको क्षेत्रमा दैनिक ३–४ वटा औषधी पसल, फार्मेसी र जारको पानीमा पनि कारबाही गरेका छौँ ।’ उहाँले आफूसँग दुईवटा टोली सधैँ सक्रिय रहेको बताउनुभयो, ‘एउटा टोली आलोपालोमा छ भने अर्को आकस्मिक उजुरी आयो भने दाैडेर पुग्नेछ ।’ बजारभाउ निरन्तर बढ्ने प्रक्रिया हो उहाँले भन्नुभयो । उहाँका अनुसार मूल्य बढ्नुमा हाम्रो आयतमुखि अर्थतन्त्र भएकाले यसमा बाह्रय प्रभावसमेत पर्छ ।‘ आयतमुखी अर्थतन्त्र भएको हाम्रो मुलुक हो ।’ कोभिडलगायतको कारण मूल्य बढेको छ ।

उहाँले खाने तेलमा भएको मूल्य बृद्धिको कारण के हो, क्लियर गर्न निर्देशन दिएको पनि बताउनुभयो । बजार अनुगमन तथा मूल्य नियन्त्रणको दायित्व पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागका नायबसुब्बा रविन्द्र थापाले तयार गरेको दैनिक बजार अनुगमन तथा निरिक्षण प्रतिवेदनमा गत जेठ २ गतेदेखि १८ गतेसम्ममा धेरै जसो औषधी फार्मेसी, अस्पताल, खाद्य तथा किराना र पानीमा कारबाही गरेको देखिएको छ । यो अवधिमा खुद्रा व्यापार तथा खाद्य पसल बन्द रहे पनि बजारभाउ भने बढेको देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?