logo
२०८१ जेष्ठ ३ बिहीवार



सहकारीले बसाल्दै एकीकृत बस्ती

अर्थ |


सहकारीले बसाल्दै एकीकृत बस्ती



दमक समाचारदाता

दमक, वैशाख ८ गते । झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका लागि लक्षित गरेर न्यूनतम जग्गासहित ४३ लाख देखि अधिकतम ५१ लाख रुपियाँसम्मका घर निर्माण हुने जनाइएको छ ।
मङ्गलबार सहकारी संस्थाले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार दमक ४ मा एक बिगाहा १६ कट्ठा जमिनमा ५२ वटा घर निर्माणको काम सुरु भएको र यसमा प्रत्यक्ष सदस्यहरूको निगरानीमा काम हुने सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
सहकारीले सुरुवातमा सदस्यबाट लागत मूल्यको १५ प्रतिशत रकम लिने र त्यसबाहेक एकमुष्ट रकम झिक्न नसक्ने सदस्यलाई २० वर्षे किस्ताबन्दीमा घर उपलब्ध गराइने छ ।
घर एकै प्रकारका बन्ने र जग्गाको प्रकृतिअनुसार जग्गा बढी भएका घरमा केही रकम घटबढ हुने भएकाले मूल्यमा एकरूपता गर्न नसकिएको पनि अध्यक्ष भट्टराईले बताउनुभएको छ । उहाँका अनुसार ५० प्रतिशतभन्दा बढी घर सदस्यहरूले इच्छाएर बुकिङ गरिसकेका छन् । डेढ तले घर बन्ने बस्तीमा ढल, खानेपानी, टेलिफोन, बाटोघाटो लगायत आवश्यक सबै पूर्वधार रहने पनि जनाइएको छ ।
सहकारीका सदस्यहरूले सोही जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधि उपलब्ध गराइने भएकाले घर भाडामा बस्दै आएका सदस्यका लागि यो लाभदायी बन्न सक्ने सहकरीका व्यवस्थापक खोमप्रसाद बगालेले बताउनुभयो । व्यावसायिक प्रयोजनका लागि यहाँ कसैलाई पनि घर उपलब्ध नगराइने पनि उहाँले बताउनुभयो ।
पाँच वर्ष किनबेच गर्न नपाइने र त्यसपछि किनबेच गर्दा पनि सहकारीका सदस्यलाई नै बिक्री गर्नुपर्ने बगालेले भन्नुभयो । सहकारी संस्था तथा त्यहाँ रहेको व्यवस्थापन समिति र घर लिने सहकारीका सदस्यले मूल्य निर्धारण गरेर मात्र बिक्री गर्न पाउने व्यवस्थासहितको कार्यविधि बनाएर अघि बढिएको पनि बगालेको भनाइ छ ।
सहकारी बस्ती निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेका अनुसार सहकारी संस्थाले चार वर्षअघि जमिन किनेको र एकैसाथ धेरै घर बनाइने भएकाले सहकारीका सदस्यहरूले कम लागतमा बस्तीमा घर पाउने अवस्था सिर्जना भएको जनाउनु भयो । आधुनिक र सुविधा सम्पन्न घर सदस्यहरूले कम मूल्यमा पाउने अवस्था सिर्जना भएको छ, उहाँले भन्नुभयो । २०७९ साल भदौ १२ गते सदस्यहरूलाई घरको चाबी हस्तान्तरण गर्ने गरी काम हुने पनि बताइएको छ ।
आठ हजार सेयर सदस्य रहेको यस सहकारी संस्थाको सेयर पुँजी करिब २९ करोड रुपियाँ रहेको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले हाल कमल गाउँपालिकाको मङ्गलबारे, मोरङको उर्लाबारी, पथरी र मधुमल्ला तथा इलामको चुलाचुली सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?