logo
२०८१ जेष्ठ १३ आईतवार



होटलका बुकिङ धमाधम रद्द

अर्थ |


होटलका बुकिङ धमाधम रद्द


वसन्त पराजुली

सौराहा, वैशाख ८ गते । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटकबाटै आत्मनिर्भर बन्न लागेको सौराहाका पर्यटकीय होटल दोस्रो लहरको सङ्क्रमणबाट प्रभावित हुन थालेको जानकारी दिनुभयो ।
“कोरोनाले थला परेको पर्यटन व्यवसायमा आन्तरिक पर्यटकले राहत दिएकोे थियो अहिले यसको दोस्रो लहरको सङ्क्रमणसँगै होटलमा गरिएको बुकिङ रद्द हुन थाले”, उहाँले भन्नुभयो ।
व्यवसायीहरूका अनुसार ११० होटलमा छ हजार पाँच सय बेड रहेको सौराहामा दुई महिनायता ४० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो । यो अकुपेन्सी सौराहाको सामान्य अवस्थाको अकुपेन्सी हो ।
“सोमबार सरकारले सूचना जारी गरेसँगै होटलको अकुपेन्सी ह्वात्तै दस प्रतिशतभन्दा तल झ-यो”, अध्यक्ष भट्टराईले भन्नुभयो, “भएका कार्यक्रम पनि धमाधम रद्द भइरहेका छन् । ”
युनिक वाइल्ड रिसोर्ट सौराहामा वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुईवटा कार्यक्रम कोभिडको त्रासले रद्द भयो । रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार ११ र १२ गतेका लागि तय भएको अन्तर्राष्ट्रिय क्लबको कार्यशाला मङ्गलबार मात्रै रद्द भयो ।
यस्तै जङ्गल क्राउन प्रालिका सन्तोष गिरी सोमबारबाटै धमाधम कार्यक्रमहरू रद्द हुन थालेका बताउनुभयो ।
“वैशाख १२ गतेदेखि एक गैरसरकारी संस्थाले चार दिन लामो कार्यक्रम तय गरेर होटल बुकिङ गराएकोमा असहज परिस्थितिका कारण बुकिङ रद्द भयोे”, उहाँले भन्नुभयो ।
सौराहामा पछिल्लो समय वीरगञ्ज, विराटनगर, काठमाडौँलगायतका सहरबाट आएर विवाह गर्ने प्रचलन बढ्दै गएकोमा कोरोनाको कहरले असर गरेको देखिन्छ ।
“वैशाख अन्तिममा दुई सय जना सहभागी हुने विवाह बुकिङ थियो तर अहिले त्यो सङ्ख्या घटेर ४० मा सीमित हुने कुरा आयो”, जङ्गल क्राउन प्रालिका गिरीले
गुनासो गर्नुभयो ।
“विभिन्न कार्यक्रम गर्ने, सौराहा पनि घुम्ने गरी कार्यक्रम तय हुने गरेका थिए तर अहिले ती कार्यक्रम धमाधम रद्द हुन थाले”, व्यवसायी थपलियाको गुनासो छ ।
जङ्गल क्राउन प्रालिका गिरी सौराहामा देखिएको होटल व्यवसायको सङ्कटका सम्बन्धमा थप्नुहुन्छ, “होटल कहिले खोल्ने कहिले बन्द गर्ने भन्नुभन्दा बरु सरकारले होटल नै बन्द गराए बरु कर्मचारी बिदामा छोड्दा होटलको लागत खर्च बच्छ !”
व्यवसायीहरूका अनुसार सौराहाको पर्यटनमा ३३ अर्ब रुपियाँ बराबरको लगानी छ । पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?