logo
२०८१ बैशाख २१ शुक्रवार



आधा दशकसम्म पनि बनेन डीपीआर

अर्थ |


आधा दशकसम्म पनि बनेन डीपीआर


जाजरकोट समाचारदाता

जाजरकोट, चैत २९ गते । जलाशययुक्त नलगाड आयोजना (४१७ मेगावाट)को डीपीआर बन्नै आधा दशक बितिसक्दा पनि हालसम्म निर्माण हुनसकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसको म्याद परामर्शदाता कम्पनी स्मेकले भनेबमोजिम थप गरे पनि थपिएको अवधिभित्र पूरा हुने सङ्केत देखिएको छैन ।
परामर्शदाता कम्पनी स्मेकतर्फका आयोजना प्रमुख बाबुराम भारद्वाजले सेप्टेम्बरमा सक्ने भनेर म्याद थप भएकामा अहिले विभिन्न उत्खनन–परीक्षण कार्य धमाधम भइरहेको बताउनुभयो । सन् २०१६ मा अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभी (संयुक्त उपक्रम)ले नलगाड (४१७ मेगावाट)को विस्तृत अध्ययन, टेन्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परामर्शदाता छनोट प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै २०७३ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्नेगरी नलगाड जलविद्युत् कम्पनी र स्मेक, एमडब्लूएच जेभी उदयबीच सम्झौता भएको थियो । यसअघि डीपीआरकर्ताको मागअनुसार सन् २०१९ अगस्टमा पहिलो पटक तीन महिना र अगस्टदेखि मे २०२० सम्म नौ महिना दोस्रो पटक डीपीआरको समयावधि थप भएको थियो ।
कर्णाली प्रदेशकै भविष्यसँग जोडिएको आयोजनाका रूपमा हेरिएको नलगाडको लगानीको टुङ्गो भने अहिलेसम्म लागिसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यसमा चासो देखाएको छ । सन् २०१२ को मूल्य (एक अमेरिकी डलर बराबर ८७ रुपियाँ हुँदा)अनुसार आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रुपियाँ छ । यसको प्रतिकिलोवाट लागत एक हजार आठ सय अमेरिकी डलर पर्ने सन् २०१२ को अध्ययनले देखाएको थियो । त्यतिबेला अध्ययन हुँदा यसको जडित क्षमता ४१० मेगावाट भनिएको थियो । जलाशययुक्त आयोजना भएकाले ४१ करोड ९६ लाख घनमिटर पानी जम्मा पार्ने पोखरी बनाउनुपर्ने छ । त्यस्तै चार सय केभीको ११२ किलोमिटर डबल सर्किट प्रसारण लाइन बाँकेको कोहलपुर सबस्टेसनसम्म बनाउनुपर्ने भएकाले यो आयोजना महँगो हुने भएको हो । यसबाट उत्पादन भएको बिजुली उपभोक्ताकहाँ पुग्दा प्रतियुनिट औसत १६ रुपियाँ नौ पैसा पर्ने अध्ययनले देखाएको छ ।
नलगाड जलविद्युत् निर्माण भएमा यसले कुल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्नसक्छ । यसमध्ये सुक्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट छ । नलगाड नगरपालिका–७, दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८, अँधेरी खोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।
नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युत् गृह निर्माण गर्ने प्रस्ताव छ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र दुईेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बनाउनुपर्छ । पाँच सय मिटर लम्बाइ र २४८ मिटर अग्लो बाँध बन्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?