logo
२०८१ बैशाख १४ शुक्रवार

   मेलम्ची खानेपानी   



ढल व्यवस्थापनमा समस्या हुन्न

मुख्य समाचार |


ढल व्यवस्थापनमा समस्या हुन्न


लक्ष्मण दर्नाल

काठमाडौँ, चैत १२ गते । मेलम्चीको पानी काठमाडौँमा वितरण गरिएपछि ढल व्यवस्थापनमा समस्या नहुने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । घरघरमा पठाएको पानीको करिब ८० प्रतिशत पानी उपभोगपछि ढलमा जानेछ । पानीको मात्रा बढ्ने भएकाले ढल भरिएर सडकमै बग्न सक्ने भएकाले त्यसको व्यवस्थापन गरिएको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुभयो, “ढल व्यवस्थापनमा समस्या हँुदैन । वर्षात् जस्तो पनि हँुदैन । परीक्षणमा नियन्त्रित रूपले पानी पठाइन्छ । ढल सफा गरिरहेका छौँ । जहाँ समस्या आउँछ त्यहाँ समाधान गर्दै जाने हो । हामी तयारी अवस्थामा छौँ ।”
मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतीले मेलम्चीको पानी वितरण गर्नसकिने अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरानो वितरण प्रणालीलाई पनि मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिन्छ, त्योभन्दा पहिल्यै परीक्षण हुने भएकाले ठूलो समस्या पर्दैन ।”
निर्देशनालयका अनुसार चक्रपथ भित्रको वितरण प्रणालीलाई पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिर हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार भइसक्नेछ । मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छ । सफल परीक्षणपछि सुन्दरीजलमा पानी आउनेछ । सुन्दरीजलमा आएको पानीलाई प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीमा पु¥याएर वितरण प्रणालीबाट घरघरको धारामा पठाइनेछ । मेलम्चीको पानी आएपछि पहिलो चरणमा प्रसारण लाइन र पाइपलाइन परीक्षण गरिनेछ । करिब एक हप्ताको परीक्षणपछि नियमित रूपमा पानी वितरण हुनेछ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ ।
मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण गरिसकिएको छ ।
सुन्दरीजलमा आएको मेलम्चीको पानीलाई विभिन्न स्थानमा निर्माण भएका पानी सङ्कलन केन्द्र (ट्याङ्की)मा भण्डारण गरी वितरण गरिनेछ र त्यसका लागि उपत्यकामा १० वटा ट्याङ्की निर्माण गरिएको छ । नौवटा तयारी अवस्थामा छन् । मेलम्चीको पानी आएपछि ती ट्याङ्की परीक्षण गरिनेछ ।
आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारको ट्याङ्की सम्पन्न भएका छन् । भक्तपुर कटुञ्जेको ट्याङ्की निर्माण भइरहेको छ । १० वटा पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ । यी पोखरी तीन हजारदेखि नौ हजार पाँच सय घनमिटर क्षमताका छन् ।
एकदेखि चारसम्मका प्याकेजमा २२२ मध्ये २१० वटा भल्भ च्याम्बर निर्माण भइसकेका छन् भने १२ वटा बाँकी छन् । निर्देशनालयले एक लाख दुई हजार ५७४ धारा जडान गर्नुपर्नेमा हालसम्म ७५ हजार धारा जडान गरिसकेको छ ।
तयारी पूरा
यसैबीच मेलम्चीबाट ल्याइएको खानेपानीलाई काठमाडौँ सहरमा वितरण गर्ने तयारी पूरा भएको छ । सहरका घरघरका पाइपलाइनमा चैत १५ सम्ममा पानी प्रवाह गर्ने योजना छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महाँकाल शाखा प्रमुख उमेशबाबु मरहट्टाले पाइपलाइनका भल्भलाई अद्यावधिक गरिसकिएको जानकारी दिनुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार महाँकालचौर, बाँसबारी, बालाजु, मीनभवन, अनामनगर, खुमलटार र महाराजगञ्ज वितरण केन्द्र खानेपानी वितरण गर्न तयारी अवस्थामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?