logo
२०८१ बैशाख २१ शुक्रवार



नाका खुले पनि राजस्व बढेन

अर्थ |


नाका खुले पनि राजस्व बढेन


हेमनाथ खतिवडा

रसुवा, चैत ८ गते । चालू आर्थिक वर्ष ०७७÷७८ को दोस्रो चौमास बितिसक्दा पनि रसुवागढी नाकाबाट आयात निर्यात अपेक्षित रूपमा बढ्न नसक्दा राजस्व सङ्कलन प्रभावित भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण देखाउँदै चिनियाँ पक्षले नाका अझै सञ्चालनमा ल्याएको छैन ।
यो नाकाबाट निर्यात ठप्पजस्तै भए पनि गत जेठदेखि एकाध चिनियाँ गाडीले सामग्री भने भित्राएका तथ्याङ्कले देखाएको छ । चिनियाँ गाडीले ल्याएको सामग्री नेपाली गाडीमा सार्ने र भन्सार जाँचपास गरेर छोड्ने कार्यबाहेक अरू क्रियाकलाप यो नाकामा देखिएको छैन । जसका कारण नेपाली व्यापारी समस्यामा परेका छन् भने रसुवा भन्सारको राजस्व सङ्कलन लक्ष्य पनि पूर्ण प्रभावित भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि हालसम्म १८.५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।
नाकाबाट न्यून मात्रामा मात्र सामग्री आउने र आएका सामग्री पनि भन्सार छुट हुने खालका मात्र आउँदा राजस्व सङ्कलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडको महामारी सुरु हुनुभन्दा अघिसम्म दैनिक सय वटाभन्दा बढी गाडीमा सामग्री आउँथ्यो । अहिले दैनिक सातवटा चिनियाँ गाडीले सामग्री ल्याउँछन् । ”
उहाँका अनुसार गत जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भए तापनि आयात बढ्न सकेको छैन । चिनियाँ पक्षले केही दिनयता दैनिक सातवटा गाडीमा सामग्री ल्याउने गरेका छन् । रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीबीच भएको छलफलले दैनिक आठवटा गाडीमा सामग्री आउने सहमति भएको थियो ।
आर्थिक वर्ष २०७२÷७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३÷७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४÷७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५÷७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६÷७७ मा आठ अर्ब २७ लाख ७७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।
२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?