logo
२०८१ बैशाख २० बिहीवार

  दृश्य समाचार  



सडकले ल्याएको खुसी, गाउँमा मोटरको भव्य स्वागत

अर्थ |
प्रदेश |


सडकले ल्याएको खुसी, गाउँमा मोटरको भव्य स्वागत


ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजाका ९६ वर्षीय दलबहादुर गर्बजा घर आगनबाट मोटर गुड्दा दङ्ग हुनुहुन्छ । कठिन मानिएको अजिंगर भीरमा सडक बन्ला र मोटर गुड्ला भन्ने गर्बुजाले कल्पना पनि गर्नभएको थिएन । तर अजिंगर भीरमा सडक पनि बन्यो र मोटर गुड्ना थाल्यो । यहि सडकको सोमबार गर्बुजाले गाउँमा उद्घाटन गर्नुभयो ।

कुइनेमंगलेकी ९३ वर्षीय उडिमा कमिनी, गर्बुजा र चिमखोलाकी १० वर्षीय लिस्मा पुनले संयुक्त रुपमा रिवन काटेर दग्नाम दर्मिजा–चिमखोला कुइनेमंगले सडकको उद्घाटन गर्नुभयो । अजिंगर भीरमा सडक बनेर गाउँमा गाडी आउँला भन्ने सोचेको पनि थिएन गर्बुजाले भन्नुभयो ‘आज धेरै खुसी भएको छु ।

जीवनको अन्तिम अवस्थमा भएपनि गाउँमा मोटर गुडेको देख्न पाएँ । कोशिस गरे असंभव भन्ने केही रहेनछ ।’ त्यस्तै ९३ वर्षीय उडिमा पनि गाउँमा सडक आएकोमा धेरै खुसी लागेको बताउनुभयो । आज हाम्रो सपना पुरा भएको छ उहाँले भन्नुभयो ।

केही दिन अघि गाउँमा सडक आएको भन्दै गाउँलेहरुले पञ्चे बाजागाजा सहित नाचगान गरेर खुसियाली मनाए । सवैभन्दा कठिन र जोखिमपूर्ण मानिएको दग्नाम स्थित अजिंगर भीरमा सडकको ट्रयाक खुलेसँगै विकट वस्ती सडक सञ्जाल सँग जोडिएका हुन ।
जिल्लाकै जोखिम मानिएको चट्टानी भीर फुटालेर सडक निर्माण गर्ने योजना दुईवर्षमा पूरा भयो । कल्पना नगरिएको भीरमा मोटर गुड्न थालेपछि स्थानीयवासीहरु खुसी भएको रघुगंगा ४ दग्नामका अध्यक्ष रुकबहादुर गर्बुजाले बताउनुभयो ।

अजिङ्गर भीरमा सडक निर्माण गरी दुर्गमका वस्तीहरुमा गाडी पु¥याउन गाउँपालिकाले दुईवर्ष देखि गौरबको योजना छनौट गरी सडक निर्माण गर्न थालेको थियो । गाउँपालिकाको योजनालाई संघ र प्रदेश सरकारले पनि प्राथमिकतामा पारेर बजेटको व्यवस्था गरेका थिए । गाउँपालिका केन्द्र मौवाफाँट देखि अजिगंर भीर हुँदै कुइनेमङ्गले सम्म सडक निर्माण गर्न करिब १५ करोड रुपियाँ भन्दा वढी खर्च भएको छ ।

सडक निर्माण सँगै गाउँपालिकाका दुर्गम वस्ती दर्मिजा,चिमखोला र कुइनेमङ्गलेका स्थानीयहरुको मोटर चढ्ने वर्षौ देखिको सपना पुरा भएको छ । सदरमुकाम बेनी देखि दुर्गमका ति वस्तीहरु सडक सञ्जाल सँग जोडिएका छन् ।

चिमखोला र कुइनेमंगमा निर्माणाधीन तुदी पावर र संयुक्त उर्जा प्रा.लि र प्रदेश सरकारसँगको साझेदारीमा यो वर्ष अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोडिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । निर्वाचनताका गरिएको प्रतिवद्धता आज पुरा भएको छ उहाँले भन्नुभयो ‘दुर्गम भेगमा सडक पुगेको देख्दा आज हर्षित छु ।

सडक स्तरउन्नती अव गाउँपालिकाको प्राथमिकता हुन्छ ।’ दुर्गमका करिब सात हजार जनसंख्या लाभान्वित हुने उहाँले बताउनुभयो । सडक नपुगेका कारण दुर्गममा पूर्वाधार निर्माण गर्न निकै असहज भएको थियो गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ‘सडकको ट्याक खुले सँगै दुर्गममा विकासको ढोका खुलेको छ ।’ निर्माणधीन दुईवटा जलविद्युत आयोजनाले पनि गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अक्करे पहाड फुटाउन गाउँपालिकाले दुई करोड ८१ लख ८७ हजार रुपियाँ बजेट खर्च भएको छ । भने प्रदेश सरकारको पचास लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका सव इन्जिनियर कमल चोखालले बताउनुभयो । यस्तै संघीय सरकारले सडक डिभिजन कार्यालय बागलुङ मार्फत करिब दुई करोड ७५ लाख रुपियाँ बजेट खर्च गरेको उहाँले जानकारी दिनुभयो ।

मौवाफाटदेखि दग्नाम हुदै अजिङ्गर भिरसम्म ५ किलोमिटर र चिमखोला देखि दर्मीजासम्म करिब ४ किलोमिटर सडकको ट्याक यस अघिनै खुलिसकेको थियो । यस वर्ष गाउँपालिका, प्रदेश सरकार र जलबिद्युत आयोजनाले प्याकेज छुट्टाएर फरक–फरक ठाउँबाट सडक निर्माण गरिएको थियो । अजिगंर भीरमा मात्र पाँचसय मिटर सडक निर्माण भएको छ ।

नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर कडा चट्टान फोर्ने काम गरिएको हो । निकै जोखिमयुक्त भीरमा सडक निर्माण गर्न हामी सफल भएका छौं, सडक निर्माणको अगुवाई गरेका दर्मिजाका स्थानीय युवा सुबिन शेरपुञ्जाले भन्नुभयो ‘डरलाग्दो भीर फुटालेर सडक निर्माण हुन्छ भन्ने कसैले सोचेका पनि थिएनन् । भीरमा मोटर गुडन थालेपछि सवै चकित परेका छन् ।’

सडक निर्माण भएसँगै दर्मिजा,चिमखोला र कुइनेमङ्गलेका स्थानीयवासीहरु गाउँपालिका केन्द्र मौवाफाँट र सदरमुकाम बेनी आउन सहज भएको छ । २०६७ देखि गलेश्वर–पिप्ले–दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमंगले सडक योजना सुरु गरिएको थियो । अहिलेसम्म करिब २० करोड रुपियाँ खर्च भएको अनुमान गरिएको छ । सडकको लम्बाई ३६ किलोमिटर छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?