logo
२०८१ बैशाख २७ बिहीवार



दूध उत्पादन कार्यक्रम सुरु,तीन वर्षभित्र पकेट क्षेत्र बनाउने योजना

अर्थ |


दूध उत्पादन कार्यक्रम सुरु,तीन वर्षभित्र पकेट क्षेत्र बनाउने योजना


लक्ष्मण पौडेल
भैरहवा, फागुन ८ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले मर्चवार क्षेत्रमा दूध उत्पादन कार्यक्रम सुरु गरेको छ । बनगाई मर्चवार रोड करिडोर आसपासका एकसय जना किसानहरुलाई लक्षित गरी कार्यक्रम सुरु भएको हो ।
पशु सेवा केन्द्रका अनुसार आयोजना तीन वर्षसम्म सञ्चालन हुनेछ । पशु सेवा विज्ञ केन्दको ५० लाख अनुदान तथा किसानको ५० लाख २५ हजार लागतमा आयोजना सञ्चालन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख प्रवेज आलमले बताउनुभयो ।

पहिलो वर्ष गोठ निर्माण तथा सुधार गर्ने, घाँसको बीउ तथा बेर्ना वितरण, परजीवी नियन्त्रण गर्ने, औषधोपचार, भिटामिन तथा खनिजको व्यवस्था, इलेक्ट्रिक च्याफकटर लगायतमा अनुदान दिने आलमले जानकारी दिनुभयो । कोटहीमाई गाउँपालिकामा कार्यक्रम सञ्चालन गरी लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेलले मर्चवार मार्ग लक्षित दूध उत्पादन कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

मर्चवार क्षेत्रका अधिकांश नागरिकको मूख्य पेशा कृषि र पशुपालन हो । निर्वाहमुखी पशुपालन गर्दै आएका किसानहरुलाई व्यावसायिक बनाउन प्रदेश सरकारले कार्यक्रम सुरु गरेको मन्त्री पौडेलले बताउनुभयो । कार्यक्रम सञ्चालन गर्न किसानहरुले सञ्चालक समिति बनाएका छन् । आधुनिक तरिकाले पशुपालन गर्न पशु चिकित्सकहरुले तालिम दिने, व्यवसाय बिस्तार गर्न अनुदान पनि पाइने भएकाले किसानहरु उत्साहित बनेका छन् ।

अहिले मर्चवार क्षेत्रमा उत्पादन भएको दुध भैरहवा तथा भारतको नौतनहवा क्षेत्रमा बिक्री हुँदै आएको छ । मूख्य पेशा कृषि, पशुपालन भएका नागरिकहरुले पनि कामचलाउ तरिकाले काम गरिरहेका छन् । गरिरहेको पशुपालनलाई तालिम पश्चात व्यवस्थित गरी दूध उत्पादन बढाउने किसानहरुले बताए ।

दूध उत्पादन बढ्दै गएपछि दोस्रो वर्षदेखि डेरी सञ्चालनमा अनुदान, चिस्यान केन्द्र स्थापना, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम छ । एआई सेन्टर स्थापना, घाँस स्रोत केन्द्र स्थापना, मिल्क क्यान र काउ म्याट खरिद लगायतमा अनुदान दिइने बिज्ञ केन्द्रले जानकारी दिएको छ ।

पशु प्राविधिकहरुको सहकार्यमा किसानलाई प्राविधिक ज्ञान र आधुनिक तरिका सिकाई मर्चवार क्षेत्रलाई दूधको पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?