logo
२०७८ कार्तिक ६ शनिवार

  दृश्य समाचार  



पशु खोपमा आत्मनिर्भर बन्दै नेपाल, विदेश निर्यातकाे तयारी

अर्थ |


पशु खोपमा आत्मनिर्भर बन्दै नेपाल, विदेश निर्यातकाे तयारी


मुकुन्द गैरे /दृश्य : मनोजरत्न शाही
काठमाडौं, फागुन ३ गते । कोभिड १९ विरुद्धको खोप विदेशबाट आयात गर्नु परे पनि पशुपंक्षीका लागि लगाइने नेपाली खोपको माग विदेशमा समेत हुन थालेको छ । नेपालले आफँै उत्पादन गर्दै आत्मनिर्भर बने पछि खोपको माग विदेशबाट हुन थालेको हो ।


राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले ११ किसिमका खोप उत्पादन गर्दै आएको छ । गार्ई भैँसी, बाख्रा, भेँडा, बंगुर लगायतमा लगाइने खोपको लागि नेपाल आत्मनिर्भर हुँदै बाहिर निर्यात गर्न सक्ने क्षमतामा पुगेको राष्ट्रिय खोप उत्पादक प्रयोगशालाका सूचना अधिकारी डा.उमेशप्रसाद शाहले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

कुखुरामा लगाइने केही खोप बाहिरबाट ल्याउनुपर्ने अवस्था भए तापनि अन्यमा भने आत्मनिर्भर बन्दै गएकोे प्रयोगशालाको भनाइ छ । उक्त प्रयोशालाबाट वार्षिक ५ करोड हाराहारीमा खोप उत्पादन भइरहेको छ । साथै, प्रयोगशालाबाट उत्पादित खोपहरु अन्तराष्ट्रिय गुणस्तरका रहेका छन् ।

भेँडा र बाख्राको लागि दिइने खोपको माग छिमेकी देशहरु बंगलादेश, पाकिस्तानलगायतका देशहरुबाट आएकाले चाँडै निर्यात गर्ने लक्ष्य रहेको डा. शाहले जानकारी दिनुभयो ।

नेपाली खोपको इतिहास

गौंगोटी रोगको नियन्त्रण र उन्मुलन गर्नको लागि सन् १९६३ मा रोग निदान प्रयोगशाला स्थापना भएपछि बाख्राको तन्टुबाट खोप उत्पादन भएको थियो । प्रयोगशालाका अनुसार सन् १९६७ सालमै नेपाली प्रयोगशालाले एच.एस. भ्याक्सिन उत्पादन गरेको थियो ।
यस्तै, सन् १९६८ सालमा रानीखेत र फावल पक्स खोप उत्पादन सुरु गरिएको थियो । सन् १९७१ मा यस प्रयोगशालालाई भिन्न प्रयोगशालाको रुपमा विकास गरी जैविकी उत्पादन प्रयोगशालाको रुपमा स्थापित गरिएको प्रयोगशालाको भनाइ छ ।

सन् १९८५ पछि पहिलो पशु विकास आयोजनाको सहयोगमा मेसिन र उपकरणहरु थप गरिएपछि उत्पादन बढ्दै गएको प्रयोगशालाको भनाइ छ । कुखुरालाई लगाइने खोप सुरुमा स्थानीय अण्डाबाट बनाउने गरिन्थ्यो भने सन् १९९७ पछि एस.भि.एस.एल.डि.सि. आयोजनाको आर्थिक सहयोगमा एस.पि.एफ. अण्डाबाट बनाउन थालिएको प्रयोगशालाको भनाइ छ ।

सन् १९९५ मा पि.पि.आर. रोग नेपालमा देखापरेपछि सो रोग नियन्त्रणको लागि सन् २००० मा यस प्रयोगशालामा एस.भि.एस.एल.डि.सि. आयोजनाको प्राविधिक र आर्थिक सहयोगमा टिष्यु कल्चर युनिटको स्थापना भएपछि पि.पि.आर. रोग विरुद्धको होमोलोगस टिष्यु कल्चर खोप उत्पादन सुरु गरेर नेपाल दक्षिण एसियामा पि.पि.आर. रोगविरुद्धको खोप बनाउने पहिलो देश बनेको थियो ।

अहिले यस प्रयोगशालाले महामारीको बेलामा लगाउने पि.पि.आर. हाइपरईम्युन सिरा पनि उत्पादन गर्दछ । सन् २००६ बाट यस प्रयोगशालाले एच.एस. एरोसोल खोप उत्पादन र सन् २००८ बाट रानीखेत आई.टु खोप उत्पादन सुरु ग¥यो । सुरुमा यस प्रयोगशालाबाट उत्पादन हुने खोप निशुल्क वितरण गरिन्थ्यो भने सन् १९८९ पछि केही खोपहरु बाहेक अरु सम्पूर्ण खोपहरु न्यूनतम मूल्य लिई वितरण गर्न थालिएको प्रयोगशालाका सूचना अधिकारी शाह बताउनुहुन्छ ।

हाल यस प्रयोगशालाले नेपालमा पि.पि.आर, स्वाईन फिवर, एच.एस., बि.क्यु र रानीखेत रोगविरुद्धको भ्याक्सिनहरु सःशुल्क र राष्ट्रिय रोग नियन्त्रण कार्यक्रमको लागि निशुल्क उपलब्ध गराइरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप