logo
२०८१ बैशाख २९ शनिवार

   सुरूङबाट प्रविधि हस्तान्तरण   



बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

अर्थ |


बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ


केदार भट्टराई/काठमाडौँ
दीपक ज्ञवाली र छवि पाण्डे/बुटवल

काठमाडौँ, फागुन २ गते । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा प्रविधि हस्तान्तरणको परियोजना बनेको छ । प्रविधि हस्तान्तरणअन्तर्गत सुरुङका लागि आवश्यक करङ (रिब) बुटबलमा निर्माण भइरहेका छन् ।
प्राविधिकका अनुसार करङ भनेको सुरुङ खन्दा चट्टान फेला नपरेको कमजोर भूसंरचनालाई गुम्बज आकारमा स्थायी संरचना बनाउन दिइने फलामे टेको हो । यो टेकोसँगै कङ्क्रिटको प्रयोगले सुरुङलाई बलियो पारिन्छ । यससँगै कतिपय अवस्थामा फलामे बाकसको संरचना पनि आवश्यक हुन्छ ।
नेपालमा सुरुङ निर्माणको परम्परा जलविद्युत् क्षेत्रमा मात्र छ । सडक निर्माणको इतिहासमा नै पहिलो पटक नागढुङ्गा–नौबिसे सडक खण्डमा सुरुङ खन्ने काम भइरहेको छ ।
जलविद्युत्का उपकरण निर्माण गर्ने कम्पनी नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडले नेपालको पहिलो सुरुङ मार्गका लागि उपकरण निर्माण गर्ने अवसर पाएको हो । जापान सरकारको सहयोगमा निर्माण हुन लागेको सुरुङको काम चाहिँ जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले गरिरहेको छ ।
सुरुङ निर्माणको प्रविधि नेपालमा नितान्त नयाँ हो । यसमा पनि अन्य निर्माणमा जस्तै सिभिल, मेकानिकल र इलेक्ट्रिकललगायतका काम हुने गर्छ । सुरुङका लागि आवश्यक करङको उत्पादन मेकानिकल इन्जिनियरिङअन्तर्गतको काम हो ।
जलविद्युत्को क्षेत्रमा काम गर्ने कम्पनीले सुरुङको काम पाउनु प्रविधि हस्तान्तरणको मुख्य पाटो रहेको कम्पनीका प्रमुख कार्यकारी रोशन सोतीले बताउनुभयो । उहाँका अनुसार हाज्माले धेरै पटक कम्पनीको फ्याक्ट्री भ्रमण गरेर र धेरै वार्ता गरेपछि कोटेसनका लागि अनुमति दिएको हो । त्यसमा कम्पनीको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरेर सम्झौता गरिएको हो ।
“हामीले प्रविधि हस्तान्तरणको काम पाउनु कम्पनीप्रतिको मात्र होइन, नेपालकै लागि ठूलो विश्वासको आधार हो । त्यो कम्पनीले यसअघि काम गरेका विदेशी बहुराष्ट्रिय कम्पनीसँगको सन्दर्भका आधारमा रहेको हो,” प्रमुख कार्यकारी सोतीले भन्नुभयो ।
एनएचईसीले जापानको तोसिबा, अस्ट्रियाको एन्डरिच र जर्मनीको भोइथसँग जलविद्युत्का उपकरण निर्माणमा आर्जन गरेको विश्वसनीयताले सुरुङका सामग्री निर्माणमा पनि प्रविधि हस्तान्तरण हुने अवसर पाएको उहाँको
विश्वास छ ।
सुरुङ मार्गमा अरू पनि काम भइरहेका छन् । धेरै इन्जिनियर काम गर्दैछन् र उनीहरूले पढेको ज्ञानलाई सदुपयोग गर्दैछन् तर पढेका आधारमा मात्र प्रविधि हस्तान्तरण हुँदैन ।
प्रमुख कार्यकारी सोतीले भन्नुभयो, “प्रविधि हस्तान्तरण भनेको व्यावहारिक अभ्यास हो । त्यसमा गुणस्तर र सेवा प्रवाहको समेत मूल्य जोडिएको हुन्छ । हामीले त्यो दिनैपर्छ । ”
यति हुँदाहुँदै पनि हाज्माले कच्चा पदार्थको सामग्रीको गुणस्तर आफैँ नियन्त्रण गरेको देखिन्छ । १२ सय टन करङ उत्पादनका लागि कच्चा पदार्थका रूपमा रहेका फलामका बिम हाज्माले नै उपलब्ध गराएको छ । उसको डिजाइनअनुसार एनएचईले करङ उत्पादन गरेकोजनाएको हो ।
बुटवलस्थित कम्पनीका मानव स्रोत तथा प्रशासन प्रमुख मणिराम पाण्डेले सुरुङ मार्गका लागि निर्माण भइरहेका करङको यो आकार अरू कम्पनीले अहिलेसम्म उत्पादन नगरेको बताउँदै आफूहरूले उत्पादन थालेको बताउनुभयो ।
उहाँले एच बिम– १००, १२५, १५० र २०० सेक्सन साइजका ती करङ ठूलो आकारको रहेको र ती सुरुङ मार्गका लागि नै बनाएको बताउनुभयो ।
एउटा करङको तौल २५० किलोदेखि एक टनसम्म रहेको बताइएको छ । त्यस्ता करङ गुम्बज आकारका हुने र जमिनको सतहमा जोडिने बताइएको छ ।
कम्पनीका मेकानिकल डिभिजन म्यानेजर रामप्रसाद बन्जाडेका अनुसार सुरुङ खनेपछि ती करङ मुख्य संरचनाका आधारका रूपमा सुरुङको बाहिरी भागलाई अड्याउन प्रयोग हुनेछन् ।
२०४२ सालमा स्थापना भएको एनएचईले यसअघि जलविद्युत्का उपकरण उत्पादन गर्दै आए पनि सुरुङ मार्गका लागि आवश्यक उपकरण उत्पादन गरेको यो पहिलो पटक हो । एनएचईले तत्कालका लागि एक हजार दुई सय मेट्रिक टन करङ उत्पादन गर्ने जनाएको छ ।
प्रमुख कार्यकारी सोतीका अनुसार कम्पनीले हाज्मालाई करङ उपलब्ध गराउन सुरु गरिसकेको छ । माग र आवश्यकताका आधारमा तयार पार्दै २०२२ मार्चसम्ममा सबै करङ दिइसक्ने सम्झौता रहेको छ ।
कुल १४४ जना अनुभवी जनशक्ति रहेको एनएचईले इलेक्ट्रिक सबस्टेसन निर्माणदेखि टर्वाइन जडान र मर्मतको कामसमेत गर्दै आएको छ ।
नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी सन् १९७६ मा स्थापना भएको कम्पनीमा संस्थागत लगानी रहेको छ । नर्वेको आईकेएनआई र नेपालका बुटवल पावर कम्पनी, बुटवल टेक्निकल इन्स्टिच्युट र हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन यसका प्रवद्र्धक कम्पनीरहेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?