logo
२०८१ बैशाख २० बिहीवार



अझै सञ्चालनमा आएन विमानस्थल

अर्थ |


अझै सञ्चालनमा आएन विमानस्थल


रुकुम समाचारदाता

रुकुम (पश्चिम), माघ २८ गते । रुकुम पश्चिमको चौरजहारी विमानस्थल स्तरोन्नति भएको लामो समयसम्म पनि सुचारु हुनसकेको छैन । २०२८ सालमा निर्माण गरेर सञ्चालनमा आएको विमानस्थल २०७० सालमा कालोपत्रे गरिए पनि त्यसपछि परीक्षण उडान मात्र गरेर नियमित सेवा सुचारु नगरेपछि सेवाग्राही मर्कामा परेका छन् ।
रुकुम पश्चिम, जाजरकोट र सल्यानका नागरिकलाई लक्षित गरी निर्माण गरिएको विमानस्थल बन्द भएपछि गाडीकै भर पर्नुपर्ने भएको छ । स्थानीय राजु लामिछानेले चौरजहारी अस्पतालबाट पठाइएका जटिल समस्याका बिरामीका लागि बढी समस्या भएको बताउनुभयो । कालोपत्रे भएपछि जहाज झन् बढी आउने अपेक्षा गरे पनि त्यसको उल्टो भएको उहाँको गुनासो छ ।
विमानस्थल कालोपत्रे हुनुअघि सातामा दुई दिन उडान भर्ने नेपाल वायुसेवा निगमले समेत उडान बन्द गरेको र प्राइभेट कम्पनीका जहाजसमेत नगएपछि विमानस्थल प्रयोगविहीन बनेकोमा स्थानीयवासी आक्रोशित छन् । नेपाल वायुसेवा निगमले करारमा रहेका स्टेसन प्रमुख सुरेन्द्र नेपालीलगायतका कर्मचारीको म्यादसमेत नथपेको र चौरजहारीमा रहेको कार्यालय नै उठाइसकेको छ ।
चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले विमानस्थल सुचारु गर्न मन्त्रालय र सरोकारवालासँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो । कहिले यात्रु नपुगको त कहिले जहाज नभएको भन्दै उडान रोकेको उहाँको भनाइ छ । जहाज नियमित भएमा यात्रु नपाउने भन्ने समस्या नरहेको उहाँले दाबी गर्नुभयो । कार्यालयको सामान नलिन बरु भाडासमेत नगरपालिकाले तिर्ने बताउँदा पनि सामान लिएर गइसकेको नगरप्रमुख शर्माको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?