logo
२०८१ जेष्ठ ८ मंगलवार



छड तथा डन्डीमा मूल्यवृद्धि : कारण बुझाउन आनाकानी गर्दै उद्योगहरु

अर्थ |


छड तथा डन्डीमा मूल्यवृद्धि  : कारण बुझाउन आनाकानी गर्दै उद्योगहरु



गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १७ गते । छड तथा डन्डीको मूल्य बढ्नुुको कारण बुझाउन अधिकांश उद्योगले आनाकानी गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभर सञ्चालित २१ वटा उद्योगलाई पत्राचार गरेर मूल्य वृद्धिलगायतको विषयमा विवरण बुझाउन निर्देशन दिए पनि हालसम्म १० वटा उद्योगले मात्रै विवरण बुझाएका हुन् । अझै ११ वटा उद्योगीले विवरण बुझाउन बाँकी छ ।
विभागले पुसको अन्तिम सातातिर फलामे डन्डी उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो तर विभागका अनुसार काठमाडौँ स्टिल, हामा स्टिल, हुलाक स्टिल, पञ्चकन्या स्टिल, प्रिमियर स्टिल, हुलास स्टिललगायत १० वटाले विवरण बुझाएका छन् । डन्डीको मूल्य बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डन्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र मूल्य बढ्नुको कारण खुल्ने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागका निर्देशक वा अनुगमन संयोजक सागर मिश्रले अझै पनि बाँकी रहेका उद्योगीलाई विवरण बुझाउन अनुरोध गरिएको बताउनुभयो ।
उहाँले फलामे छड र डन्डीको मूूल्य नियन्त्रण नभएको र आधाभन्दा बढीले विवरण दिन आनाकानी गरेकाले आइतबार वाणिज्य सचिवले सबै उद्योगीलाई मन्त्रालय उपस्थित हुन निर्देशन गर्नुभएको जानकारी दिनुभयो । वाणिज्य सचिवले विवरण बुझाउने र बुझाउन अटेर गर्ने सबै उद्योगलाई पत्राचार गर्न दिएको निर्देशनअनुसार पत्राचार गरिसकेको निर्देशक मिश्रको भनाइ छ ।
उहाँले भन्नुभयो, “विवरण बुझाउन सुरुमा दिएको मिति ४ गते नै सकिएको हो । योबीचमा आउने आश गरिएको थियो तर आएन । हामी राम्रो गर्ने उद्योगीलाई सहयोग गर्छौं, असहयोग गर्नेलाई कानुनी प्रक्रियामा जान बाध्य हुन्छौँ, यो वातावरण नबनोस् भन्ने हो । ”
उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले डन्डीको मूल्य बढेको दाबी गर्दै आएका छन् । उद्योगहरूले डन्डी उत्पादनका लागि सबै कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र त्यस्तो कच्चा पदार्थ कोभिड–१९ पछि अन्तर्राष्ट्रिय बजारमै महँगो भएको छ ।
विभागका अनुसार डन्डीको भाउ अन्तर्राष्ट्रियस्तरमै महँगो भएको विभागको अनुगमनबाट पनि पाइएकाले कति बढ्नुपथ्र्यो र कति बढ्यो भन्ने मात्रै अहिलेको खोजीको विषय हो । पछिल्ला दुई/तीन महिनामा डन्डीको मूूल्य प्रतिकेजीमा ३० देखि ३५ रुपियाँसम्म बढेको पाइएकाले यसको जवाफ रिपोर्टमा आउने विश्वास विभागले गरेको थियो ।
निर्माण व्यवसायीले भने डन्डीमा महिनैपिच्छे मूल्य बढेको भन्दै विरोध गर्दै आएका छन् । कोरोना महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको उनीहरूको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?