logo
२०८१ बैशाख १४ शुक्रवार



संरक्षित क्षेत्रमा बढ्यो सुरक्षा चुनौती

खुला |


संरक्षित क्षेत्रमा बढ्यो सुरक्षा चुनौती


चाँदनी हमाल

काठमाडौँ, माघ १७ गते । पछिल्लो समय संरक्षित क्षेत्रमा सुरक्षा चुनौती बढेसँगै यसको नियन्त्रणका लागि सरकारका विभिन्न निकायले सक्रियता बढाएका छन् । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको सङ्कटमा परेको अस्तिìव रक्षा गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरीसहित तीनवटै सुरक्षा निकाय सक्रिय बनाइएको छ ।
सुरक्षा सक्रियताकै कारण त्यस्ता वन्यजन्तुका आखेटोपहार तथा वनपैदावर बोकेका मानिस सहरी क्षेत्रमा धमाधम पक्राउ पर्न थालेका छन् । यही माघ १० गते काठमाडौँको महाराजगञ्जमा प्रतिबन्धित वनपैदावरका रूपमा रहेको पाँचऔँलेसहित एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ ग¥यो । ती व्यक्तिको साथबाट सात केजी पाँचऔँले जडीबुटी बरामद भएको थियो ।
त्यसअघि पुस ९ गते चरिबाघको छालासहित अर्का एक व्यक्ति काठमाडौँकै टोखाबाट पक्राउ परे । मङ्सिर ३० गते टोखाबाटै वन्यजन्तुको आखेटोपहार र जीवित सरिसृप सुनगोहोरोसहित दुई व्यक्ति पक्राउ परेका थिए । सहरी क्षेत्रमा प्रतिबन्धित वनपैदावर र वन्यजन्तुका आखेटोपहार बोकेकाहरू दिनहुँजसो नै पक्राउ परिरहेका छन् ।
उता संरक्षित क्षेत्रभित्र पनि बारम्बार सिकारमा संलग्न मानिस पक्राउ पर्ने क्रम जारी छ । गत भदौ २१ गते चितवन निकुञ्जमा गोली हानिएको घाइते गैँडा फेला परेसँगै सिकारीको समूह चलमलाएको आशङ्का गरिएको थियो । सो गैँडा उपचारका क्रममा मरेको थियो । देशका विभिन्न संरक्षित क्षेत्रमा सुरक्षामा खटिएको सेनाले लगत्तै अपरेसन महाहण्ट–७ सञ्चालन गरी संरक्षित क्षेत्रमा खोजतलास तीव्रपारिरहेको छ ।
त्यस क्रममा माघ ४ गते चितवन राष्ट्रिय निकुञ्जमा खाग तस्करका नाइकेका रूपमा चिनिएका एक जना व्यक्ति पक्राउ परेका थिए । त्यस्तै माघ २ गते चोरी सिकारमै संलग्न मानिएका दुई जना व्यक्ति पक्राउ परेका थिए ।
माघ १ गते शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नजिकको बस्तीबाट पाँच जनालाई हातहतियार र आखेटोपहारसहित निकुञ्जका कर्मचारी तथा प्रहरीले पक्राउ गरेका थिए । सोही क्षेत्रबाट पुस २७ गते भरुवा बन्दुकसहित एक सिकारी पक्राउ परेका थिए । यो अवस्थाले संरक्षित क्षेत्रमा सुरक्षा चुनौती बढेको देखाएको छ ।
यसरी कोभिड–१९ को महामारी तथा राजनीतिक अस्थिरताको अवस्था सिर्जना भएको आभास पाएर संरक्षित क्षेत्रमा चोरी सिकारमा संलग्न व्यक्ति चलायमान हुन खोजेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । विभागका प्रवक्ता हरिभद्र घिमिरेले कोभिडमा सबै मानिस घरघरमै बसेकाले पनि संरक्षित क्षेत्रमा बढी चाप परेको बताउनुभयो ।
उहाँले हात्तीलाई करेन्ट लगाएर मार्ने काम भएको घटना ठूलो चुनौतीका रूपमा देखिएको स्वीकार गर्नुभयो । यस वर्षको भदौको घटना अघि २०७३ साल चैत २५ गते एउटा गैँडालाई गोली हानेर मारेको घटना भएको थियो । उहाँका अनुसार संरक्षित क्षेत्रमा पछिल्लो समय सुरक्षा गस्ती तीव्र पारिएको छ । प्रतिबन्धित वन पैदावर तथा वन्यजन्तुका आखेटोपहार ओसारपसार नियन्त्रण गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सक्रिय रहेको छ । ब्युरोका प्रमुख सहकुलबहादुर थापाले भन्नुभयो, “हाम्रै सक्रियताले पछिल्लो समय बढी मानिस पक्राउ परिरहेका छन् । ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?