logo
२०८१ बैशाख २४ सोमवार



नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन

अर्थ |


नेपालगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन


सिराज खान
नेपालगञ्ज, माघ ७ गते । यहाँस्थित नेपाल भारत सीमा नाका गत नाै महिनादेखि बन्द रहेपनि राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ ।
नाका बन्द भए पनि सामाग्रीको आयात बन्द नहुँदा नेपालगञ्ज भन्सार कार्यालयले विगतभन्दा धेरै बढी राजस्व संकलन गरेर देखाएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले चालु आर्थिक बर्षको ६ महिनामा यो कार्यालयले लक्ष्य भन्दा २ अर्ब ३२ करोड रुपैया बढी राजश्व संकलन गरेर उल्लेख्य उपलब्धी हासिल गरेको बताउनुभयो ।
कार्यालयको चालु आर्थिक बर्षको पुस मसान्तसम्मको लक्ष्य ७ अर्ब ५८ करोड रहेकोमा ९ अर्ब ९० करोड अर्थात १३० दसमलव ५५ प्रतिशत राजश्व असुली गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।
चालु आर्थिक बर्षको पहिलो महिनामानै १७७ प्रतिशत राजश्व असुली गरेको नेपालगञ्ज भन्सारले यसबर्ष राजश्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजश्व संकलन गरेर ३८ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको हो ।
भन्सार कार्यालयले यसबर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजश्व असुली गर्ने लक्ष्य लिएकोमा सो लक्ष्य सजीलै पुरा हुनुका साथै लक्ष्यभन्दा पनि धेरै बढी राजस्व संकलन हुने निश्चित देखिएको प्रमुख भण्डारीले बताउनुभयो ।
कोरोना कहरका कारण सिमाना बन्द गरिएपछि सीमा नाकामा प्रहरीले निकै कडाइ गरिरहेको र अन्य साइड नाकाहरुमा समेत सशस्त्र प्रहरीले निगरानी बढाएकोले अवैध आयातमा कमी आएर पनि राजस्व संकलन बढेको जनाइएको छ ।
विभिन्न नाकाहरुमा स्थापना गरिएका छोटी भन्सारहरु नहुँदा अवैध चारी पैठारी रोक्न समस्या भएकोले ती सबै छोटी भन्सार पुनःस्थापना गर्नुपर्ने माग स्थानीयले लामो समयदेखि गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?