logo
२०८१ बैशाख १४ शुक्रवार



सुन्तला राख्न सेलार स्टोर

अर्थ |


सुन्तला राख्न सेलार स्टोर


जाजरकोट समाचारदाता

जाजरकोट, पुस २९ गते । यहाँको कुशे गाउँपालिका–५ दम्दाला गाउँमा उत्पादन हुने सुन्तला भण्डारका लागि भवन निर्माण गरिएको छ । उचित भण्डारण अभावमा बढी उत्पादन भएको सुन्तला खेर नजाओस् भनेर भवन निर्माण गरिएको हो ।
विगत चार, पाँच वर्षयता यहाँका कृषक आफ्नो बाली लगाउने सबै जग्गामा व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तलाको सिजनमा बजारमा सस्तो भाउ हुने र टाढा लैजान पनि समस्या भएकाले कृषकका लागि उचित भण्डारणको आवश्यकता थियो ।
सुन्तला कृषक अगुवा शक्तिबहादुर वलीले कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर नजाओस् भनेर सुविधा सम्पन्न भण्डारण भवन (सेलार स्टोर) निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको बताउनुभयो । बेमौसमसम्मका लागि सेलार स्टोरमा सुन्तला भण्डारण गर्न सहज भएको वलीको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जाजरकोटका प्रमुख पीताम्बर बस्नेतले परियोजना कार्यान्वयन एकाइको १२ लाख र प्रगतिशील युवा कृषि सहकारी संस्थाको १२ लाख लागतमा सेलार स्टोर निर्माण गरिएको जानकारी दिनुभयो । सेलार स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतको भनाइ छ ।
उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएका थिए । अब गाउँमै सेलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै बिक्री गर्न सक्ने प्रमुख बस्नेतले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले कृषिजन्य वस्तुको भण्डारण सेलार स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न महìवपूर्ण भूमिका खेलेकोे बताउनुभयो । गाउँमै सेलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ । भवनभित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका तख्ता निर्माण गरिएका छन् । भवनमा कृषकका मात्र सुन्तला भण्डार गरिनेछ । सेलार स्टोर निर्माणसँगै सुन्तला उत्पादन क्षेत्र विस्तारमा वृद्धिसमेत हुने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?