logo
२०८१ बैशाख १६ आईतवार



लाभांश र बोनस वितरण गर्दै निगम

अर्थ |


लाभांश र बोनस वितरण गर्दै निगम


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । नेपाल आयल निगमले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । आगामी सोमबार हुने साधारण सभामा सेयर पुँजी ११ अर्ब रुपियाँको २० प्रतिशत रकम सेयर धनीहरूलाई वितरण गर्ने भएको हो । जसअनुसार आठ सेयरधनीलाई दुई अर्ब २० करोड रुपियाँ वितरण गरिने तयारी छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेसनल ट्रेडिङ लिमिटेड, राष्ट्रिय बीमा कम्पनी, नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क निगमका सेयरधनी रहेका छन् । जसमा नेपाल सरकारको ९९ प्रतिशत सेयर रहेको छ ।
२२ अर्ब रुपियाँ सञ्चित नाफा रहेको निगमले पाँच वर्षदेखि निरन्तर नाफा बढाएको छ । आर्थिक वर्ष २०७४/७५ मा तीन अर्ब ५८ करोड रुपियाँ नाफा गरेको निगमले २०७५/७६ मा आठ अर्ब ७५ करोड नाफा गरेको थियो । २०७६/७७ मा भने निगमले १२ अर्ब ८७ करोड रुपियाँ नाफा गरेको छ ।

कर्मचारीलाई बोनस
निगमले आफ्नो नाफाको १ प्रतिशत रकम कर्मचारीलाई बोनस वितरण गर्ने भएको छ । बोनसका लागि गत वर्षको नाफाबाट करिब १७ करोड ४० लाख रुपियाँ छुट्याइएको छ । बोनसका लागि गत असारसम्म छुट्याएको रकम तीन अर्ब ४७ करोडभन्दा बढी रहेको छ ।
दुई वर्षको बोनस वितरण गर्दा उच्च तहका कर्मचारीले ६० हजार रुपियाँभन्दा बढी र तल्लो तहका कर्मचारीले ३० हजार रुपियाँ हाराहारीमा बोनस पाउनेछन् । निगममा करिब छ सय स्थायी कर्मचारीसहित करिब नौ सय कर्मचारी छन् । बोनस वितरण विधि विधानअनुरूपको काम भएकाले यसलाई अन्यथा लिइरहनु नपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । विगत पाँच वर्षदेखि कर्मचारीलाई बोनस वितरण नगरिएको निगमले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?