logo
२०८१ पुष ६ शनिवार



मुख्यमन्त्री उखु कार्यक्रमले किसान लाभान्वित

अर्थ |


मुख्यमन्त्री उखु कार्यक्रमले किसान लाभान्वित


 

कञ्चनपुर समाचारदाता

महेन्द्रनगर, पुस २३ गते । पूर्वी तथा मध्य नेपालका उखु किसान समयमै भुक्तानी नपाएको पीडामा रहेको बेला पश्चिम नेपालको कञ्चनपुरका किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) कार्यक्रममार्फत उखु खेतीका लागि अनुदानमा बीउ बिजन, मलखाद, यन्त्र तथा उपकरण दिन थालेपछि किसान व्यावसायिक रूपमा उखु खेतीतर्फ आकर्षित भएका हुन् ।
गत वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सञ्चालन गरेको मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमअन्तर्गत कञ्चनपुरको बेलडाँडीमा उखु खेती प्रवद्र्धन गरिएको छ । उखु खेतीबाट राम्रो आम्दानी हुने र कार्यक्रममार्फत सिँचाइ सुविधादेखि यन्त्र उपकरण पाएकोले उखु खेतीका लागि निक्कै सहज भएको उखु किसानको भनाइ छ ।
बेलडाँडी गाउँपालिका–३, खैरीघाटका उखु किसान अम्मरराज पण्डितले मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रममार्फत सिँचाइका लागि बोरिङसहितको सुविधा पाएकाले उखु खेती गर्न सहज भएको बताउनुभयो । पण्डितसँगै आसपासको क्षेत्रका किसानले समेत सिँचाइ सुविधा पाएका छन् ।
सोही क्षेत्रका अर्का उखु किसान सञ्जीवविक्रम सिंहले समेत दुई बिघा जमिनमा उखु खेती गर्नुभएको छ । यसअघि निजी लगानीमा बोरिङ तथा इन्जिनबाट सिँचाइ गर्दा खर्चिलो हुने गरेको भए पनि अहिले सरकारी अनुदानमा सिँचाइ सुविधा पाइएकोले सो क्षेत्रका किसान खुसी छन् ।
मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) समन्वय समिति बेलडाँडीले उखु किसानलाई उखु खेतीका लागि चाहिने मलखाद, बीउ बिजन, यन्त्र उपकरण तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमार्फत करिब ५० लाख र बेलडाँडीका किसानको करिब ३० लाख गरी करिब ८० लाख रकममा गत वर्ष कार्यक्रम सुरु गरिएको मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) समन्वय समिति बेलडाँडीका अध्यक्ष सुरेन्द्र सिंहले बताउनुभयो ।
किसानलाई बजेटबाट २८ वटा बोरिङ तथा पम्पसेट, चारवटा रोटाभेटर, ट्याक्टर, रेजर, हैरोसहितका उखुसँग सम्बन्धित कृषि औजार उपकरणसमेत अनुदानमा उपलब्ध गराइएको छ । त्यस्तै १२ ठाउँमा उखु प्रदर्शनी तथा किसानलाई विषादी तथा सूक्ष्म तìवसमेत वितरण गरिएको अध्यक्ष सिंहले बताउनुभयो ।
एक दशकअघिसम्म उखु खेती गर्ने अधिकांश किसानले भारतीय क्षेत्रमा रहेका चिनी उद्योगमा निक्कै सस्तो दररेटमा उधारोमै उखु बिक्री गर्नुपर्ने बाध्यता थियो । पछिल्लो समयमा गाउँमै चिनी उद्योग स्थापना भएपछि यहाँका अधिकांश किसानको जीवनस्तरमा सुधार
आएको छ ।
नजिकै रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालि, बेलौरीले उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव हुन नदिन किसानलाई प्राविधिक रूपमा सहयोग गर्दै आएका छन् । महाकाली सुगर इन्डस्ट्रिज प्रालि बेलौरीका क्यान म्यानेजर चन्द्रदेव पाण्डेय (सिडी)ले मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमले किसानलाई थप हौसला दिएको बताउनुभयो ।
अहिले कञ्चनपुरमा दुईवटा ठूला चिनी उद्योग सञ्चालनमा छन् । यसका अतिरिक्त ग्रामीण क्षेत्रमा थुप्रै गुड उद्योगसमेत छन् ।
खेतीयोग्य जमिनमा यसअघि प्रायःजसो धान, गहुँ मात्रै खेती गर्ने कञ्चनपुरका धेरैजसो किसान अहिले उखु खेतीबाटै आत्मनिर्भर बनिरहेको पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?