logo
२०८१ जेष्ठ ३ बिहीवार



मन्दिर र होटल खुल्दा चिसोमा पनि न्यानो !

अर्थ |


मन्दिर र होटल खुल्दा चिसोमा पनि न्यानो !


अमृतप्रसाद पौडेल

बेनी, पुस २० गते । माइनस १० डिग्री सेल्सियसभन्दा कम तापक्रममा धारा तथा खोलामा समेत पानी जमेको छ । यस्तो बेला अघिल्ला वर्षहरूमा सधैँजसो बेँसी झर्ने मुस्ताङी कोरोनाको डरले गर्दा यस वर्ष जाडो छल्न पनि झरेनन् ।
यहीबीचमा जिल्लाभित्रका मन्दिर तथा होटल पनि बन्द भएपछि त मन पनि चिसो गरेर बसेका छन् तर अब भने मुक्तिनाथ मन्दिर र स्थानीय होटल खुल्ने भएपछि उनीहरू मात्र होइन बेँसीतिर बस्ने अरू पनि चिसोमा उकालो चढ्न उत्साही भएका छन् ।
‘भर्जिन’ गन्तव्य भनिने उपल्लो मुस्ताङका बासिन्दा पर्यटक आउने भनेर जति उत्साहित त्यत्तिकै फुरुङ्ग छन् आन्तरिक पर्यटक पनि । चिसोले गर्दा धारा तथा नदीहरू जमेको भए पनि पर्यटकलाई स्वागत गर्न स्थानीयवासी उत्साहित रहेको लोमन्थाङका बासिन्दा एवं गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको भनाइ छ ।
गत चैतदेखि बन्द रहेका मुस्ताङका मन्दिर पुस २१ देखि खुल्न लागेको छ भने होटल व्यवसाय यसअघि नै सञ्चालनमा आइसकेका छन् । यसबाट उपल्लो मुस्ताङका बासिन्दा उत्साहित भएका छन् । विगतका वर्षमा जाडो छल्न बेँसी झर्ने गरेको भए पनि यस वर्ष आफ्नै थातथलोमा बसेका मुस्ताङी सामान्य रूपमा आन्तरिक तथा बाह्य पर्यटकका लागि मुस्ताङ खुला गरिएपछि खुसी भएका हुन् ।
प्राचीन मानव सभ्यता तथा सीपको अध्ययन एवं अवलोकन गरी जानकारी लिनका लागि उत्कृष्ट मानिने गुफा यतिबेला पर्यटकको पर्खाइमा छन् । विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ का कारण जारी बन्दाबन्दीले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक नपुग्दा यस वर्ष त्यहाँका गुफा सुनसान थिए ।
हिमालपारिको जिल्लाका रूपमा चिनिने मुस्ताङमा रहेका प्राचीन गुफा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ । पछिल्लोपटक नेपालीमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै मुस्ताङ पुग्ने आन्तरिक पर्यटक बढेका छन् । तिनै पर्यटकले मुस्ताङका विभिन्न ठाउँमा रहेका प्राचीन समयमा मानव निर्मित गुफाको अवलोकन गर्दै आइरहेका छन् । हिमाली जिल्ला मुस्ताङ आफैँमा सुन्दर छ । त्यसमा पनि मुस्ताङका गुफा, गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रले सजिएको छ ।
उत्तर–दक्षिण जोड्ने छिमेकी मुलुक चीनसँगको सिमाना बहुचर्चित कोरला नाकासमेत नेपालकै गहना हो । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत छोसेरमा रहेको झोङ गुफा पर्यटकको रोजाइमा पर्ने उत्कृष्ट गन्तव्य हो । उक्त गुफाभित्र १०८ वटा कोठा रहेको सांसद विष्ट बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?