logo
२०८१ जेष्ठ ३ बिहीवार



डीडीसीको घिउ जापान निर्यात

चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता

अर्थ |
फिचर |


डीडीसीको घिउ जापान निर्यात


गोरखापत्र समाचारदाता

सिरहा, मङ्सिर २२ गते । दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ ।
अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताउनुभयो । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क गरी घिउ लाने गरेको उहाँले बताउनुभयो । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन गरी उत्पादन प्रक्रिया तथा गुणस्तर हेरेपछि घिउ लान तयार भएको डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताउनुभयो । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरको प्रमाणित गरेपछि जापानका व्यापारी घिउ लैजान तयार भएका हुन् ।
डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको छ । प्रत्येक महिना चार–पाँच सय मेट्रिक टन घिउ लग्ने सम्झौता भएको प्रमुख झाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो एजेन्ट कोरोना सङ्क्रमित भएका कारण दुई महिनादेखि निर्यात रोकिएको छ । सम्झौताअनुसार जनवरीदेखि प्रत्येक महिना चार–पाँच सय मेट्रिक टन घिउ निर्यात हुन्छ । ”
जापानका उपभोक्ताले डीडीसीको घिउ अत्यधिक मन पराएको भन्दै महाप्रबन्धक पौडलले अझै माग बढ्ने सम्भावना रहेको रहेको जनाउनुभयो । जापानमा रहेका नेपाली, भारतीयलगायतका रेस्टुरेन्टमा आउने ग्राहकले डीडीसीको घिउ रुचाएका कारण यसको माग बढेको उहाँले बताउनुभयो ।
जापानमा अहिले घिउ मात्र गइरहेको छ । डीडीसीबाट उत्पादित अन्य दुग्ध पदार्थ पनि पठाउने प्रयास भइरहेको विभागका प्रमुख झाले बताउनुभयो । याकको चिज पनि जापान पठाउने सोच बनिरहेको छ, त्यसका लागि कुराकानी भइरहेको तर अहिले घिउ नै रुचाइएको छ । डीडीसीबाट उत्पादित दुग्धजन्य पदार्थ कोरिया पठाउने कुराकानी भइरहेको उहाँले बताउनुभयो ।
कोरोना महामारीका कारण दूधको खपत ६० प्रतिशत घटेको छ । बजारमा दूधको खपत घटे पनि किसानबाट दूध लिने काम रोकिएको छैन । बजारमा जान नसकेको दूधको दुग्धजन्य पदार्थ बनाउने काम भइरहेको डीडीसीले जनाएको छ ।
डीडीसीसँग दैनिक ३६ सय लिटर घिउ उत्पादन गर्ने क्षमता रहेको छ । अहिले डीडीसीसँग चार सय मेट्रिक टन बटर मौज्दात रहेको छ । बटर खपत हुनेमा समस्या छैन तर याकको चिज खपतमा समस्या भइरहेको विभागका प्रमुख झाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?