logo
२०८१ बैशाख १४ शुक्रवार



पेट्रोलियमको ड्रिल फागुनमा मात्र

अर्थ |


पेट्रोलियमको ड्रिल फागुनमा मात्र


लक्ष्मण दर्नाल

काठमाडौँ, कात्तिक ८ गते । दैलेखमा पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम फागुनदेखि सुरु गर्ने तयारी छ । कोरोना भाइरसका कारण बन्दाबन्दी नभएको भए तिहारपछि ड्रिल गर्ने योजना खानी तथा भूगर्भ विभागको थियो तर बन्दाबन्दीका कारण ड्रिल औजारहरू ल्याउन सकिएको छैन । वर्षाका कारण फिल्डमा गएर गर्ने काम पनि भएको छैन ।
अहिले सबै काम ठप्प रहेको विभागका उपनिर्देशक सुधीर रजौरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दी नभएको भए अहिलेसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो । हवाई सेवा पनि बन्द भएकाले ड्रिल औजार ल्याएको छैन । अब सन् २०२१ को सुरुबाट ड्रिल गर्ने सोच छ । ” ड्रिल औजार चीनको कम्पनीले आफैँ ल्याउने छ ।
तर कोरोनाको प्रभाव त्यतिबेलासम्म कस्तो हुन्छ यसै भन्न सकिने अवस्था नरहेको उपनिर्देशक रजौरेको भनाइ छ । कुन स्थानबाट ड्रिल गर्ने भन्ने पहिचान गर्न गरिएको अध्ययनको प्रतिवेदन निर्माण तयार रहेको रजौरेले जानकारी दिनुभयो । चीनको अध्ययन समूहले प्रतिवेदन अध्ययन गरेको थियो । छिट्टै उनीहरूले निष्कर्ष दिने विभागले जनाएको छ । अबको काम ड्रिल हो ।
विभागका अनुसार विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखाएको छ । रजौरे भन्नुहुन्छ, “दैलेखमा पेट्रोलियम पदार्थ त पक्कै छ तर कति र कस्तो छ भनेर पत्ता लगाउने काम ड्रिलबाट हुन्छ । ” उहाँका अनुसार कच्चा पेट्रोलियम पदार्थ जम्मा भएर रहने खालको भौगर्भिक संरचना दैलेखमा छ । विभागले गत वर्ष ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो । ड्रिल ४.५ किलोमिटर गहिराइमा गरिने छ । ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गरिने योजना छ । जसका लागि सम्भावित स्थानहरूको पहिचान हँुदै छ । दैलेख सदरमुकामदेखि पाँच किलोमिटर पश्चिममा २० किलोमिटर क्षेत्रको तीन स्थानबाट अन्वेषणको काम हँुदै आएको छ । चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम सम्पन्न भएका छन् । उपनिर्देशक रजौरेका अनुसार ड्रिल गर्नुअघि ‘जियोलोजिकल म्यापको अपडेट’ र ‘सेक्सन मेजरमेन्ट’अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ पत्ता लगाउने काम हुनेछ ।
सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता दिने व्यवस्था गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?