logo
२०८१ बैशाख १५ शनिवार



दशैँ बिदामा पनि बजार अनुगमन

अर्थ |


दशैँ बिदामा पनि बजार अनुगमन


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ८ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । दशैँ बिदाको समयमा अनुचित व्यापारिक क्रियाकलाप भई उपभोक्ता ठगिने सम्भावना रहने भएकाले विभागले दशैँभर नै अनुगमनलाई निरन्तरता दिने भएको हो ।
विभागका महादिर्नेशक नेत्रप्रसाद सुवेदीेले विभागका बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्ने जानकारी दिनुभयो ।
नियमित पाँच÷सात टोलीले बजार अनुगमन गर्दासमेत अनुचित क्रियाकलाप वृद्धि हुँदै गएको जानकारी दिँदै उहाँले भन्नुभयो, “बिदाको समयमा अनुगमन नै नगर्दा उपभोक्ता मारमा पर्न सक्छन् । हामीले अन्य समयको भन्दा कडाइका साथ अनुगमन गर्ने र व्यापारिक क्रियाकलापमा गलत नियत राख्ने व्यापारीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्छौं । ”
महानिर्देशक सुवेदीले यसअघि देखिने गरी अनुगमनमा जाने गरेकामा दशैँका बेलामा कर्मचारी उपभोक्ताको भेषमा बजार अनुगमनमा निस्किने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले नियमित तथा विभागमा आएको गुनासोका आधारमा उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा अनुगमन टोली परिचालित हुने पनि जानकारी दिनुभयो ।
साथै उहाँले सचेत तथा जिम्मेवार उपभोक्तालाई कुनै व्यापारीबाट मौका छोपेर कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप भएमा तुरुन्त टोल फ्रि नम्बर ११३७ मा सम्पर्क गरी गुनासो तथा सूचना दिनसमेत अनुरोध गर्नुभयो ।
महँगोमा पानी बेच्नेलाई कारबाही
विभागले बिनाअनुमति प्रशोधित पानीको मूल्यको विषयमा पनि छड्के अनुगमन गरेको जनाएको छ । महानिर्देशक सुवेदीले विभागले प्रशोधित पिउने पानी बढी मूल्यमा बिक्री गर्नेलाई कालोबजारी ऐनअनुसार कारबाही गरिने जानकारी दिनुभयो । बिनाअनुमति पानीको मूल्य बढाएको र घटाउन आग्रह गर्दा समेत नटेरेकाले पानी उद्योगी, ढुवानीकर्ता तथा खुद्रा व्यापारीलाई कारबाही गरिने उहाँको भनाइ छ । विभाग र पानी उद्योग सङ्घका पदाधिकारीबीचको छलफलले तत्काल पुरानै मूल्य कायम गर्ने निर्णय गरेको थियो । विभाग र सङ्घको निर्णयको अवज्ञा गर्दैै व्यापारीले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गरेका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?