logo
२०८१ बैशाख १५ शनिवार



नेपाली चियाले पायो ट्रेडमार्क

अर्थ |


नेपाली चियाले पायो ट्रेडमार्क


कोकिला ढकाल

इलाम, असोज ६ गते । अन्ततः नेपाली अर्थाेडक्स चियाको आफ्नै ट्रेडमार्क लोगो कार्यान्वयनमा आउन लागेको छ । नेपालमा चिया रोपिएको १५७ वर्षपछि चिया तथा कफी विकास बोर्डले मङ्गलबारदेखि चियाको लोगो औपचारिक कार्यान्वयन गर्न लागेको हो । नेपाली चिया बजारमा पठाउँदा अबदेखि ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ नामको नेपाली लोगो टाँस हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा जाने गरी कार्यान्वयन गरिएको लोगो चिया क्षेत्र नयाँ फड्को भएको सरोकारवाला बताउँछन् । पहिलो चरणमा देशभरका १२ उद्योगले लोगो प्रयोग गर्न पाउँदै छन् । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड पूरा गरेका उद्योगलाई मात्र लोगो हस्तान्तरण गरिने बोर्डले
जनाएको छ ।
बोर्डका अनुसार लोगो प्राप्त गर्न ४२ उद्योगले निवेदन दिएका थिए । मापदण्ड पुगेका उद्योगलाई मात्र लोगो प्रदान गरिने र निवेदन दर्ता गराएका उद्योगलाई मापदण्ड पूरा गर्न दिइने बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो । इलामका गोर्खा टि स्टेट, हिमालयन साङ्ग्रिला टि प्रोड्युसर्स प्रालि, जस्बिरे टि स्टेट, नेपाल स्मल टि, ओएएचआईएस टि स्टेट, तारागाउँ टि स्टेट, उच्च पहाडी चिया सहकारी र साखेजुङ टि स्टेटसहित १२ उद्योगले लोगो पाएका छन् ।

ससर्त प्रयोग गर्नुपर्ने
उद्योग र व्यवसायीलाई लोगो प्रयोगको सर्त पनि छ । व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण बोर्डलाई देखाउनुपर्ने छ । कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्याङ्क बोर्डमा रहने बोर्डका प्रवक्ता दीपक खनालले बताउनुभयो । निर्देशिकाले लोगो कार्यान्वयनका सन्दर्भमा एउटा समिति गठनको व्यवस्था गरेको छ ।
यदि निर्देशिकामा भएका विषय र आचारसंहितालाई उल्लङ्घन गरे दिएको लोगो खोस्न पनि सकिने खनालले बताउनुभयो । वगान र उद्योगमा पनि गुणस्तरीय चिया प्रशोधन तथा उत्पादन र प्याकेजिङको कामको पनि कडाइका साथ अनुगमन हुने उहाँले जानकारी दिनुभयो । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा बोर्डमा जम्मा गर्नुपर्ने छ ।
यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशहरूमा पनि दर्ता गराउन भने अनिवार्य छ । प्रवक्ता खनालका अनुसार अमेरिका र भारतमा भने नेपाली लोगो दर्ताको प्रक्रिया चलिरहेको छ । बोर्डले यसअघि अमेरिका, यूएई र भारतमा नेपाली चियाको लोगो दर्ताका लागि प्रक्रिया अघि बढाएको थियो । विदेशमा पनि आफ्नो लोगो दर्ता गराएर उत्पादित वस्तु निर्यातको अनुमति लिन प्रक्रिया भने निकै झन्झटिलो र खर्चिलो छ । प्रक्रिया भन्झटिलो भएपछि बोर्डले यूएईको प्रक्रियाबाट भने पछि हट्नु परेको प्रवक्ता खनालले बताउनुभयो ।
जर्मनी, रुस, अस्ट्रेलियालगायतमा देशमा नेपाली चिया जाने गरेको छ । लोगो कार्यान्वयनमा आउँदा नेपाली चियाले बल्ल आफ्नो पहिचान पाएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुमसहित १४ जिल्लामा आठ हजार ८३८ हेक्टरमा चिया खेती हुँदै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?