logo
२०८१ बैशाख १४ शुक्रवार



चिया मजदुरको ज्याला विवाद समाधान

अर्थ |


चिया मजदुरको ज्याला विवाद समाधान


विष्णुप्रसाद पोखरेल

दमक, असोज २ गते । चिया बगानमा कार्यरत मजदुरको ज्याला विवाद समाधान भएको छ । चिया उद्यमीले मजदुरको न्यूनतम ज्यालामा दैनिक ३० रुपियाँका दरले बढाउने भएपछि लामो समयदेखिको ज्याला विवाद समाधानको बिन्दुमा पुुगेको हो ।
न्यूनतम ज्यालालाई लिएर झापाका चिया मजदुर सङ्गठन र नेपाल चिया उत्पादक सङ्घबीच विवाद चल्दै आएको थियो । झापा उद्योग सङ्घ भद्रपुरको कार्यालयमा बुधबार अबेरसम्म भएको छलफलपछि चार बुँदे सहमति भएको छ । श्रम ऐन, २०७४ अनुसार दैनिक न्यूनतम ज्याला ३८५ रुपियाँ पाउनुपर्नेमा सोअनुसारको ज्याला नपाएको मजदुरले बारम्बार गुनासो गर्दै आएका थिए ।
दुवै पक्षबीच भएको सहमतिमा न्यूनतम ज्यालामा ३० रुपियाँ वृद्धि भएपछि अब चिया मजदुरले दैनिक ४१५ रुपियाँ पाउने छन् । गत साउन १ देखि यताको समयको ज्याला दैनिक ४१५ रुपियाँ पाउने निश्चित भएको छ । आगामी आर्थिक वर्षमा थप २० रुपियाँ दिने निर्णय सहमति भएको कुुरा नेपाल चिया उत्पादक सङ्घका जेपी शर्माले बताउनुभयो ।
सहमतिअनुसार चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको ज्यालामा अतिरिक्त दैनिक भत्ता पनि पाउने भएका छन् । यस्तो दैनिक भत्ता ४२ रुपियाँ रहेकामा थप ५५ रुपियाँ पुगेको छ । शर्माले भन्नुुभयो, “आउँदा दिनमा चिया क्षेत्रका मजदुरको समस्या हल हुन्छ भन्ने विश्वास गरिएको छ । ”
नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश अग्रवालले श्रम ऐनको कार्यान्वयन गर्न तथा गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मजदुर नेता दीपक तामाङका अनुसार केही हदसम्म भए पनि मजदुरको पक्षमा अहिले सहमति जुटेको धारणा राख्नुुभयो । झापामा साना किसानका सहित २८ वटा चिया उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा ५० हजारभन्दा बढी मजदुर कार्यरत रहेको बताइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?