logo
२०८१ जेष्ठ ६ आईतवार



इन्टरनेट प्रयोग गर्दै आधुनिक माछापालन

अर्थ |


इन्टरनेट प्रयोग गर्दै आधुनिक माछापालन


लम्की समाचारदाता

लम्की (कैलाली), भदौ १३ गते । कैलालीको घोडाघोडी नगरपालिका देउकलिया गाउँका विनोद चौधरीले इन्टरनेटको सदुपयोग गर्दै बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गर्नुभएको छ ।
स्नातक तहमा अध्ययनरत चौधरीले कोरोनाको जोखिमसँगै क्याम्पस अनिश्चितकालीन रूपमा बन्द भएपछि फुर्सदको समयलाई सदुपयोग गर्दै इन्टरनेटको सहयोग लिँदै बायोफ्लक प्रविधिबाट माछापालन सुरु गर्नुभएको हो ।
२२ वर्षीय चौधरीले घरआँगनमै थोरै क्षेत्रफलमा माछा पाल्न सकिने यो प्रविधिका बारेमा आफूले युट्युबमा हेरेर तथा जानकारहरूसंँग सुझाव लिएर माछापालन सुरु गरेको चौधरीले बताउनुभयो ।
पोखरी निर्माण गर्ने तरिका, भुराको जानकारी र कस्तो दाना कति मात्रामा प्रयोग गर्नेजस्ता जानकारी युट्युुबबाट लिएको उहाँले बताउनुभयो । केही अलमल हुँदा अनुभवीको सल्लाह लिन्छु, चौधरीले सुनाउनुभयो ।
घर नजिकै ढुङ्गा र सिमेन्टको प्रयोग गरेर पोखरी निर्माण गर्नुभएका चौधरीले ३०÷३० हजार घनमिटर पानी जम्मा हुने दुईवटा पोखरी निर्माण गरेर १० हजार माछाका भुरा हाल्नुभएको छ । करिब पाँच लाख लगानीमा बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताउनुभयो ।
उच्च शिक्षासँंगै कृषि पेसामा लागेका चौधरीले भन्नुभयो, “विदेश पलायन हुने युवाले कृषि कार्यमा अर्काको देशमा पसिना बगाउनु परेको हुन्छ । मैले आफ्नै देशमा कृषि व्यवसाय गरेर यतै केही गर्नुपर्छ भन्ने सोच राखेको छु । ”
बायोफ्लक प्रविधिबाट माछापालन गर्दा कम लगानी तथा कम क्षेत्रफलमा पनि मनग्गे आम्दानी गर्न सकिने रहेछ, अरूले यस प्रविधिबाट माछापालन गरेर मुनाफा लिएको अनुभवबाट हौसिनुभएका चौधरीले सुनाउनुभयो । सुरुमा थोरै लगानीबाट व्यवसाय सुरु गर्नुभएका चौधरीले सुरुमै मुनाफा नभए पनि त्यसलाई बढाउँदै लैजाने बताउनुभयो ।
यो प्रविधिबाट पालिएका माछालाई प्रोटिनयुक्त दाना खुवाइने हुनाले यसबाट उत्पादन हुने माछा स्वस्थकर र स्वादिलो हुने बताइएको छ । नगरपालिकामै चौधरीले पहिलो आधुनिक प्रविधिको प्रयोग गर्दै माछापालन व्यवसाय सुरु गरेपछि अन्य युवाले समेत सिको गरेर आत्मनिर्भर हुने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?