logo
२०८१ बैशाख १५ शनिवार



पहुँचबाहिर सुन

अर्थ |


पहुँचबाहिर सुन


राधा चालिसे

काठमाडौँ, साउन १६ गते । सुखको गहना र दुःखको खजनाका रूपमा मानिँदै आएको पहेँलो धातु सुनबाट अब ती दुवै आवश्यकता पूरा गर्न नसकिने भएको छ ।
कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लाग्न थालेपछि न त गहना बनाउन सकिने अवस्था देखिएको छ न त आफूसँग भएको सुन बेचेर गर्जो टारौँभन्दा सहजै बिक्री हुने अवस्था छ ।
नेपाली बजारमा सुन आमसर्वसाधरणको पहुँचभन्दा निकै टाढा हुन थालेको छ । बिहीबारको बजार भाउअनुसार सुन तोलाको ९९ हजार रुपियाँ पुगेको छ । यो मूल्य ठीक एक वर्षअघि भन्दा करिब ४३ हजार रुपियाँ बढी हो । नेपाली समयअनुसार बिहीबार बिहान १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १९६६ अमेरिकी डलर कायम भएको छ । सोहीअनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९९ हजार र तेजाबी सुन ९८ हजार ५६० रुपियाँ पुगेको छ । त्यस्तै चाँदी प्रतितोला एक हजार २२५ रुपियाँ पुगेको छ ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदो सुरक्षित लगानीका रूपमा सुन रहँदा यसको बजार मूल्य निरन्तर उकालो लाग्दै आएको छ । विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो हुँदै जाँदा विदेशी लगानीकर्ताको लागि सुन महँगिने गर्छ ।
मूल्य बढेपछि नेपाली बजारमा सुन आयात घटेको छ । आव २०७६÷७७ को जेठसम्म कुल १३ अर्ब ६३ करोड ८७ लाख रुपियाँको आयात भएको छ । मूल्यका आधारमा यो अघिल्लो आवको भन्दा करिब ५६.९ प्रतिशतले कम हो ।
आव २०७५÷७६ को सोही अवधिमा करिब ३१ अर्ब ६४ करोड ७८ लाख रुपियाँभन्दा बढी रुपियाँको सुन आयात भएको व्यापार तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । कोरोनाको सङ्क्रमण देखिनुअघि नै करिब ३३० किलो सुन मौज्दात रहेकाले थप सुन आयात नभएको नेपाल बैङ्कर सङ्घले जनाएको छ ।
दैनिक १० किलो सुन बिक्री हुने गरेको बजारमा अहिले ठप्पजस्तै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले ज्यादै न्यून मात्र कारोबार भएको छ । किन्नेभन्दा बिक्री गर्ने केही देखिए पनि व्यवसायीले अनुमान गरेजस्तो बिक्रेता आएका छैनन् ।
शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भएको घटबढका कारण अब मूल्य ओरालो लाग्ने बिन्दुमा पुगेको छ । लगानीकर्ताले नाफा बुक गर्नका लागि पनि बजार पुल ब्याक हुने अनुमान गर्न थालिएको छ । यदि बजार पुल ब्याक भएर प्रतिऔँस एक हजार सात सय डलर भएमा नेपाली बजारमा प्रतितोला करिब ९० हजार रुपियाँसम्म आउनसक्ने अनुमान गरिएको छ । त्यस्तै बजार पुल ब्याक हुन थालेमा सुन बिक्री गर्नेको चाप बढ्ने अनुमान व्यवसायीले गरेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?