logo
२०८१ बैशाख २६ बुधवार



होटल सञ्चालनको तयारीमा जुट्न आग्रह

अर्थ |


होटल सञ्चालनको तयारीमा जुट्न आग्रह


लेखनाथ समाचारदाता

पोखरा, साउन ११ गते । सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै बिस्तारै होटल व्यवसाय पनि सञ्चालनमा आउने अपेक्षासहित पश्चिमाञ्चल होटल सङ्घ पोखराले पूर्वतयारीमा जुट्न मातहतका सदस्य व्यवसायीलाई आग्रह गरेको छ । सङ्घका तर्फबाट अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गर्नुभएको हो । झण्डै चार महिनादेखि पोखराका होटल सञ्चालन गर्ने गरी तयारीमा जुट्न आह्वान गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, कोरोना सङ्क्रमणको अवस्थामा पर्यटकको आगमनमा शून्य रहेको हुँदा यो समयलाई सदुपयोग गर्दै प्रमुख पर्यटकीय सिजनलाई लक्षित गरी त्यस समयमा आगमन हुने पाहुनालाई भयरहित वातावरणको सुनिश्चिता गर्न आग्रह गरिन्छ ।
आतिथ्यता प्रदान गर्न सङ्घले होटल प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई होटल सञ्चालन कार्यविधि (प्रोटोकल)अनुरूप तालिम प्रदान गर्ने, सुरक्षा सावधानीका सामग्री खरिदमा सहजीकरण गर्ने हुँदा यहाँहरूलाई आन्तरिक तयारीमा जुट्नसमेत आग्रह गर्दछौँ ।
पर्यटनलाई चलायमान बनाउन वर्तमान समयमा आन्तरिक पर्यटकको विशेष भूमिका रहने भन्दै सङ्घले निकट समयमा नै डिजिटल वा विभिन्न माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यको तयारी गरिरहेको पनि जनाएको छ ।
यसैगरी होटल सेवा पनि सावधानी अपनाउँदै क्रमिक रूपले खुल्दै जाने अपेक्षा सङ्घले गरेको पनि उल्लेख गरिएको छ । नेपाल सरकारले साउन ६ गतेबाट जनजीवन र आर्थिक गतिविधिलाई चलायमान बनाउन पूर्ण सुरक्षा सावधानी अपनाउँदै करिब चार महिनाको लकडाउन अन्त्य गरेको थियो । यस घोषाणासँगै साउन १५ देखि होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसाय र भाद्र १ गते देखि लामो दूरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः सञ्चालन गर्न सेवा प्रदायकलाई अनुमति प्रदान गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, लामो समयको बन्दाबन्दीले गर्दा व्यवसायीहरू मानसिक तथा आर्थिक रूपमा दबाबमा परेका कारण व्यवसायलाई गति दिन केही समय लाग्ने निश्चित छ । पर्यटनलाई पुरानो लयमा फर्काउन र कसरी चलायमान बनाउन सकिन्छ भन्ने चिन्ताको विषय हो ।
यसका लागि आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि हुनु जरुरी छ । हाल वर्तमान अवस्थामा नेपाल सरकारद्वारा होटल सञ्चालन कार्यविधि जारी गरेको अवस्थामा सो कार्यविधि अवलम्बन गरी व्यवसाय सञ्चालन गर्नु सबैको दायित्व हो ।
यसैगरी कोभिड–१९ को कारणले पर्यटन क्षेत्रमा ठूलो आर्थिक क्षति पुग्न गएको अवस्थामा पर्यटन तथा होटल व्यवसायलाई पुनः उत्थान गर्न केन्द्रीय, प्रादेशिक तथा स्थानीय सरकारसमक्ष विभिन्न छलफल गरिएको र माग राखिए पनि व्यवसायलार्ई पुनः उत्थान गर्न सबै तहका सरकारबाट कुनै उल्लेख्य नीति तथा कार्यक्रम ल्याउन नसकेको पनि सङ्घले गुनासो गरेको छ ।
हालै मात्र नेपाल राष्ट्र बैङ्कले जारी गरेको ०७७÷७८ को मौद्रिक नीतिमा विशेष गरी होटल तथा पर्यटन क्षेत्रमा सहुलियत दरको पुनःकर्जा, ऋणको पुनर्तालिकीकरण, सावाँ तथा ब्याज भुक्तानका लागि थप समयावधि माग भए अनुसार केही सम्बोधन हुनुले वर्तमान परिस्थितिमा केही राहत मिलेको महसुस सङ्घले गरेको छ ।
नीति आफैँमा सामान्यतया उत्कृष्ट हुने भन्दै कार्यान्वयनको सुनिश्चितता प्रमुख रहेको हुनाले यसको अक्षरशः पालना गर्न बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध गर्दै नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण पनि सङ्घले गराएको छ ।
कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा देखिएको शिथिलतालाई ध्यानमा राखी पश्चिमाञ्चल होटल सङ्घ पोखराले यस विषम परिस्थितिमा होटल प्रतिष्ठानलाई सहुलियत प्रदान गर्ने उद्देश्यले विगतका वर्षमा लिइँदै आएको नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कमा ५० प्रतिशत छुट दिई आर्थिक वर्ष २०७७÷७८ को नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने जानकारी पनि सङ्घले
गराएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?