logo
२०७७ जेष्ठ १६ शुक्रवार

कतै विश्व व्यवस्थामा नै उथलपुथल त हुने हाेइन ?

अर्थ |
पढ्नै पर्ने |


2020-04-11-12171


एकराज पाठक    
काठमाडौँ, चैत २९ गते । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि पनि कामविहीन बन्न सक्छन् ।     

उक्त प्रतिवेदनमा अहिले नै पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको उल्लेख छ ।

विश्वको तथ्याङ्क हेर्दा काम गर्ने समग्र जनशक्तिको यो ८१ प्रतिशत हुन आउँछ । अमेरिकामा मात्र ४३ प्रतिशत मानिस वेरोजगार हुनसक्ने यस प्रतिवेदनले देखाएको छ । तर यो समस्यालाई अल्पकालीन भनिएकोले लामो समय त्यस्तो नहुने आशा गर्न सकिन्छ । तर अहिले नै कामविहीन भएको यो जनशक्तिले आगामी दिनहरुलाई पनि प्रभाव भने पार्ने देखिन्छ ।    
    
त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोषले १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण शुक्रबार नै गरेको छ । यसअघि १ सय ६० देशको प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण गरेको उसले कोरोनाको कहर शुरु भएपछि पुनः यस्तो प्रक्षेपण गरेको हो । कोरोनाको कहर चौतर्फी देखिएपछि आइएमएफले आफ्नो अघिल्लो प्रक्षेपण उल्ट्याएर यो नयाँ जारी गरेको हो ।    

आइएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिभा विश्वभरको सरकारले ८० अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेको बताउनुभएको छ । ‘कोरोनाले सन् २०२० मा सङ्कट ल्याउनेछ भन्दै यदि अहिलेकै अवस्था लामो समय नभई सामान्य हुँदै गएमा सन् २०२१ मा विश्वको आर्थिक अवस्था सामान्य रुपमा सुधारतर्फ जानेछ उहाँको भनाइ छ ।

यसअघि मार्चको अन्तिमतिर मुद्रा कोषले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसकेको घोषणा गरेको थियो । विश्वभर फैलिएको कोरोना भाइरस को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको घोषणा उसले उतिबेलै गरेको हो ।    

निर्देशक जर्जिभाले यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुने अनुमान गरिएको बताउनुभएको थियो । विश्वको अर्थतन्त्र ठूलो सङ्कटतर्फ अघि बढेको आँकलन गर्दै उहाँले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोषहरु खडा गर्नुपर्ने सुझाव दिनुभएको थियो ।       
भाइरसको प्रकोप बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विश्वका कैयौँ देशले लक डाउनको घोषणा गरेबाट अर्थतन्त्र धर्मराएको कोषले आँकलन गरेको थियो । बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा रहेको र अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी उहाँले शुक्रबार अवस्था झनै बिग्रिएको आँकलन गर्नुभएको छ । यी आर्थिक आँकलनहरु महामारी केन्द्रित नै हुन् ।    
    
‘ब्ल्याक डेथ’ का नाममा चिनिने चौधौँ शताब्दीको प्लेग महामारीको नरसंहारले युरोपको इतिहास बदलिदिएको थियो । चीनको सिल्क रोडहुँदै युरोप भित्रिएर करिब ३४ महिना चलेको भनिएको त्यो महामारीले युरोपको ठूलो जनसंख्यालाई मृत्युको मुखमा धकेलेको थियो । खासमा त यसले युरोपको त्यसताकाको अर्थराजनीतिमा नै परिवर्तन ल्याइदियो ।

एकातर्फ महामरीले श्रमिकको श्रम गर्ने वर्गको सङ्ख्या घटाइदिँदा श्रमको आपूर्तिमा कमी आयो भने अर्कातर्फ महामारीले थला पारेको युरोपले साधन र स्रोतको अभावमा आर्थिक सन्तुलन कायम गर्न पनि सकेन । जसका कारण महामारीअघि र पछिको यूरोप भनेर छुट्टिन पुग्यो ।

यसरी गरिवीमाा धकेलिएको युरोपले २० औँ शताब्दिको अन्त्यतिरबाट मात्र समृद्धिको बाटो खन्न थालेको हो ।   महामारीका मानवीय, राजनीतिक र आर्थिक प्रभावका पाटोको खोजी अहिले विश्वमै हुँदैछ । अहिलेको विश्वमा कुनै एक देश एक्लै बाटो हिँडेर समृद्धिको मार्गमा पुग्न सक्दैन । चीनको वुहानमा देखिएको कोरोना विषाणुले दुई महिनामै संसारको फन्को मारिसकेकोले सिंगो भूगोल नै एकअर्कामा अन्तरसम्बन्धित छ भन्ने उदाहरण सहजै लिन सकिन्छ ।

हरेक देशका अन्तर्राष्ट्रिय सम्बन्धहरु आजको विश्वमा आर्थिक हितको बाटो भएरै अघि बढ्ने गरेका छन् । मुलुकका राजनीतिक र कूटनीतिक सम्बन्धका आयामले आर्थिक आयामलाई नै अघि लाउने गर्दछन् । त्यसैले पनि अबको विश्वको अर्थतन्त्रको सम्भावित संरचनाबाटै अर्थराजनीतिको पाटो खुल्ने विश्लेषणहरु तर्क गर्छन् ।    
    
विश्वको अर्थतन्त्र आफ्नो नियमित बाटोमा फर्किन कति समय लाग्ला भन्ने अनुमान अहिले नै गर्दा सही नहुन सक्छ । तर यसलाई विश्वका अर्थक्षेत्रका जानकारहरुले आधादेखि एक दशक लाग्ने अनुमान गर्दछन् । अहिले अनुमान गरिए अनुरुप नै यो महामारी ओरालो लाग्यो भने मात्र दशकसम्म अर्थतन्त्र आफ्नो पुरानो स्वरुपमा फर्किने अनुमान उनीहरुको छ ।

अमेरिकी विज्ञहरुले अबको दुई हप्ता अमेरिकामा कारोना महामारीको ‘पिक आवर’ (उच्च विन्दु) भनेका छन् । बढी सङ्क्रमणको चपेटामा परेका इटाली र स्पेनमा पनि यही अनुमान छ । यदि अनुमानकै बाटोमा महामारी तल ओर्लियो भने यो अर्थतन्त्रले आफ्नो पूर्वअवस्था ग्रहण गर्न आधादेखि एक दशक लाग्छ भनिएको छ ।    
यो महामारीको पहिलो निर्मम शिकार अमेरिका बन्ने आँकडामा देखिँदैछ ।

यसैले आर्थिक तथा सामाजिक पुनर्निर्माणको लागि अमेरिकी अगुवाइकै पहलकदमी बढी प्रभावकारी हुन जाला । र, यसमा उसँगको आशलाग्दो आधार उसले नै सन् २००८ मा व्यहोरेको वित्तीय सङ्कट बन्नसक्छ ।

अमेरिकी उत्पत्तिको त्यो मन्दीले अमेरिकी अगुवाइको पुँजीवादी अर्थव्यवस्था र त्यसको औचित्यमाथि प्रश्न उठाएको थियो । हुनत यो महामारीले अमेरिकी समुदायमा गराउने क्षति त्योभन्दा बढी होला तर त्यस समयको पाठबाट पनि यतिबेला अझ चाँडो उठ्न उसलाई असजिलो नहोला ।    
    
हुन त महामारीले आफ्नो अन्त्यको सङ्केत नगरिसकेकाले आजभोलि नै के होला भनेर अनुमान गर्नु हतार पनि हुनसक्छ । तर नेपालजस्ता विकासोन्मुख मुलुकको महामारीपछिको आर्थिक व्यवस्थापनका चुनौतीहरुका बारेमा भने अहिल्यैदेखि विश्लेषण ग¥यो भने भोलि आइपर्दा बाटो पहिल्याउन सहज हुनसक्छ ।    

हाम्रो उपभोगमुखी अर्थप्रणाली, आयात, राजस्व आदि रेमिट्यान्सको कमीले खुम्चिने नै छन् । हाम्रा गन्तव्य मुलुकले रोजगारी कटौती गर्ने क्रम शुरु हुनेछ । यसले पहिलो शिकार त हामीलाई नै बनाउने छ । हिजो हामीले स्वदेशमै केही गरौँ भनेर युवा शक्तिलाई उत्प्रेरित गर्नुको सट्टा ‘फ्रि भिसा फ्रि टिकट’मै विदेशिन प्रेरित ग¥यौँ ।

यो मन्दीका कारण विश्वव्यापी रूपमा क्रयशक्ति घट्दा यहाँ रात बिताउन गुणस्तरीय पर्यटकको आगमन दुर्लभ हुन पनि सक्नेछ । यसले देशको समग्र पर्यटन क्षेत्रकै आय घट्न जाने त स्वाभाविकै भयो । यस्तो विश्वव्यापी मन्दीले हाम्रा योजना आयोजनाहरु समयमै सम्पन्न नहुन सक्छन् ।    
    
अर्कातर्फ, हाम्रो अर्थतन्त्रमा सहयोग अनुदानको पाटोमा पनि ह्रास आउन सक्छ । किनभने हाम्रा दाताहरु नै मन्दीमा फस्न सक्ने देखिन्छ । यसले गर्दा नेपालमा विदेशी मुद्रा सञ्चिति घट्ने र शोधानान्तर घाटा बढ्ने त हुने नै भयो । वैदेशिक सहायतामा आउने कमीले नेपालको आर्थिक क्षेत्रमात्र छुदैन यसले ओगटेका अनेकन सामाजिक आयामहरुमा पनि क्षति पुग्न जानेछ । त्यसैले वैदेशिक रोजगारीमा रहेको ठूलो जमात नेपाल फर्किने भएकाले यसलाई स्वदेशी कृषि उद्यममा लगाउन के गर्न सकिन्छ भन्ने बारेमा सरकारले अहिले नै सोच्दा राम्रो हुनेछ ।    
    
गएको डिसेम्बरको अन्त्यतिर चीनको वुहान शहरबाट उत्पत्ति भएको कोरोना जीवाणुको औषधि पत्ता नलागे पनि चिनियाँहरुले कारण भने शुरुमै थाहा पाए । एक अर्काबाट टाढा रहनु नै नियन्त्रणको विकल्प सोचे र पूरै शहर लकडाउन गरे । तर उनीहरुको यो निदानात्मक विधिमाथि पश्चिमाहरुले नागरिक अधिकारको प्रश्न उठाए । विषाणु चीनमा मात्र सीमित रहँदा युरोप अमेरिकातिर नियन्त्रणको विधि सोचिएन ।

चीनमा यसको वितण्डा देखिँदा यसले बाँकी विश्वलाई दुखेको भए र यसको निदानमा संयुक्त प्रयास थालेको भए आज यो हालत नहुन पनि सक्थ्यो । तर जब यसले इटालीको बाटो भएर सिंगो युरोप र अमेरिका विचरण गर्नथाल्यो बल्ल विश्वव्यापी बन्यो मुद्दा ।

त्यतिबेला यता चीन तङ्ग्रिइसकेको थियो । कोरोना जीवाणुसँग लड्ने चीनको आक्रामक विधिले वुहान र चीनलाई ७६ दिनमै पुरानो लयमा ल्याउन सक्यो । यतिखेर विश्वभरि आक्रामक रुप देखाइरहेको यो जीवाणुले वास्तवमा चीनले अपनाएको रणनीति खोज्दैछ ।    
    
यतिखेर विश्वबजारमा छाएको बहस कोरोना युद्धपछिको विश्वको अर्थ र राजनीतिक संरचनाको हो । मानौँ कि विश्व व्यवास्थामा नै यो भाइरसले ‘प्रि–कोरोना एरा’ र ‘पोष्ट– कोरोना एरा’ को नयाँ आँठो लगाइदिने अनुमान धेरैले गर्दैछन् । तर यो अनुमानका लागि अहिल्यै तयार भइहाल्नुपर्छ भन्ने लाग्दैन । चौधौँ शताब्दिको प्लेगले युरोपमा ल्याए जस्तो उथलपुथल यसले विश्व व्यवस्थामा ल्याउला जस्तो लाग्दैन ।

अहिलेका तर्कहरु कोरोना विषाणुले अमेरिकामा बढी क्षति गरेको र यता चीन सामान्य भए पनि उत्पादन प्रणालीमा फर्किसकेकोले विश्वको दोस्रो अर्थतन्त्र पहिलोमा उक्लिनसक्छ भन्ने हो । अहिलेको विश्वमा आर्थिक स्वरुप या हैसियतले नै राजनीतिक संरचनाको स्थान निर्माण गर्छ भनिन्छ र केही हदसम्म त्यो हो पनि । जसका कारण विश्वको अहिलेको राजनीतिक संरचनामा पनि परिवर्तन आउन सक्ने अनुमानहरु गरिँदैछ ।    

अमेरिकीहरु त्यहाँ कोरोना जीवाणु क्षतिको उच्च विन्दुमा पुग्न लागेको बताउँदैछन् । यो पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म यसले लिने आर्थिक र राजनीतिक आयतनको मापन पनि त्यति सजिलो नहोला । वुहानको एक कुनामा उब्जिएको यो अदृश्य विषाणुले दुई महिनामै यसरी संसारभरि यो रौद्ररुप धारण गर्ला भन्ने अनुमान यसअघि कसैलाई नभए जस्तै विश्व संरचनामै उथलपुथल आउनसक्ने अनुमानमा आधारित बहसहरु पनि अहिले नै सार्थक नहुन सक्छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?