logo
२०८१ बैशाख १४ शुक्रवार



चीनको ६५ अर्ब लगानी आउँदै

अर्थ |


चीनको ६५ अर्ब लगानी आउँदै


टीकाराम उप्रेती

झापा, फागुन ४ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले झापाको दमकमा निर्माण हुने नेपाल–चीनमैत्री औद्योगिक पार्क नेपालमा नै सबैभन्दा ठूलो विदेशी लगानीको हुने बताउनुभएको छ ।
दमक नगरपालिकामा औद्योगिक पार्क निर्माण परियोजनाबाट क्षतिपूर्ति पाउने गरी प्रभावितका लागि आयोजित वित्तीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो नेपालका लागि नै अनौठो अवसर र दमकका लागि त सबैभन्दा ठूलो सपना नै रहेको बताउनुभयो । उहाँले यसै भएका हुँदा स्थानीय तह र सरोकारवाला सबैले यस अवसरलाई उचित सदुपयोग गर्न सहयोग गरी लगानीमैत्री वातावरण निर्माण गर्न आह्वानसमेत गर्नुभयो । उपाध्यक्ष कँडेलले सुरुमा सुन्दा त आफूलाई नि पत्यार नलागेको तर औपचारिक सम्झौताका काम अघि बढेपछि भने यसलाई नेपालका लागि ठूलो अवसरका रूपमा लिएको उल्लेख गर्नुभयो ।
चीन सरकारले औद्योगिक पार्क निर्माणका लागि कुल ६५ अर्ब लगानी गर्ने गरी सम्झौता भएको छ । दमक, गौरादह नगरपालिक र कमल गाउँपालिकाको कुल २१ सय बिघा क्षेत्रमा वातावरणमैत्री औद्योगिक पार्क निर्माण गरिने भएको छ ।
यसमा क्षतिपूर्ति र अन्य कारणले लगानी गर्ने वातावरण निर्माण गरिएन भने यो नआउने भएकाले सबै स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रनितिनिधि, स्थानीय बासिन्दालगायतलाई समेटेर छलफल गरी औद्योगिक वातावरण निर्माण गर्न आह्वान गरिएको हो ।
उहाँले यो लागनी भित्रिए यहाँ ठूलाठूला उद्योग आउन सक्ने र अझै धेरै लगानीका बाटा खुल्दै जाने चर्चा गर्दै अन्तर्राष्ट्रियस्तरका ठूला कार मोटर पार्ट निर्माणदेखि इलेक्ट्रोनिक्स आईटीसम्बन्धीका सामान उत्पादन गर्ने कम्पनी आउने योजना रहेको जनाउनुभयो ।
कार्यक्रममा नेपाल लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले नेपालमा उद्योग थला पर्नुमा ५०औँ वर्षसम्म मुआब्जाको विषयलाई लिएर हुने आन्दोलन चक्काजाम हो । त्यसैले यस्ता विषयलाई सुरुमा नै विवादरहित तरिकाले निर्मूल बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।
औद्योगिक क्षेत्र विकास समिति लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोही पनि स्थानीय बासिन्दालाई सुकुम्बासी बनाएर उद्योग सञ्चालन नगरिने बताउनुभयो । उद्योगले सबै सरोकारवालाहरूसँग बसेर सबैका गुनासा सुनेपछि उचित सहमतिका आधारमा आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । औद्योगिक क्षेत्रमा नै गएर सार्वजनिक सुनुवाइ गरिने उहाँले बताउनुभयो ।
दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले मानिसको स्वास्थ्य बिगारेर फस्टाउने उद्योग नभई वातावरणमैत्री उद्योग निर्माणमा स्थानीय तहको सधैँ सहयोग रहने बताउनुभयो । गौरादह नपाका प्रमुख रोहितकुमार शाहले उद्योग स्थापना हुने क्षेत्रका सर्वसाधारण कसैलाई पनि अन्याय नहुने गरी काम अघि बढाउन माग गर्नुभयो ।
कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले यो अवसरलाई कुनै हालतमा बाहिर जान दिन नहुने बताउनुभयो ।
अहिलेसम्म एक हजार ३५३ बिघा जग्गा औद्योगिक लिमिटेडको नाममा आइसकेको छ । यसमा पहिलो चरणअन्तर्गत ४११ बिघा क्षेत्रफलको निजी जग्गाको मुआब्जा वितरण गरेर नेपाल औद्योगिक क्षेत्र विकास समिति लिमिटेडको नाममा आइसकेको छ । पहिलो चरणको काम आगामी वैशाखदेखि सुरु हुने र तीन वर्षभित्रमा सम्पन्न गर्ने जनाइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?