logo
२०८१ बैशाख १४ शुक्रवार



स्वागतमा रङ्गीचङ्गी छाता

अर्थ |


स्वागतमा रङ्गीचङ्गी छाता


शालिग्राम नेपाल

चितवन, फागुन ३ गते । चितवनमा जाने पर्यटकले भिन्न किसिमले स्वागत गरिएको पाउने भएका छन् । पर्यटकलाई आकर्षित गर्न सरकारले घोषणा गरेको चितवनको नयाँ पर्यटकीय क्षेत्र पटिहानीमा तीन करोड रुपियाँको लगानीमा आकर्षक छाता गल्ली (अम्बे्रला स्ट्रिट) निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–२२ को पटिहानीमा उक्त स्ट्रिट निर्माण गरिएको हो ।
थारू, बोटे समुदायको बाक्लो बस्ती रहेको यहाँबाट चितवन राष्ट्रिय निकुञ्जका जनवार सजिलै देख्न सकिन्छ । राप्ती नदीमा देखिने सूर्यास्त अझ धेरै आकर्षक मानिन्छ । यही स्थानमा नेपालमा नै पहिलो पटक अम्बे्रला स्ट्रिट निर्माण गरिएको वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।
विदेशमा यस्ता पर्यटकीय आकर्षण हुने भए पनि नेपालमा पहिलो भएको उहाले दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार स्ट्रिट उद्घाटन गर्नुभयो ।
वडाध्यक्ष महतोले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको पटिहानीमा यो पर्यटकका लागि थप आकर्षण हुने बताउनुभयो । केही पूर्वाधार निर्माण कार्य अझै बाँकी रहेकाले पर्यटकलाई अझ लोभलाग्दो स्थल बनाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रङ्गीन छाता राखिएका छन् । यी छाताले सो क्षेत्रको नयाँ सौन्दर्य प्रदान गरेको छ ।
शान्त र पर्यटकका लागि राम्रो वातावरण पटिहानी भएकाले यहाँ नयाँ काम गरौँ भनेर अम्बे्रला स्ट्रिट निर्माण गरिएको पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शङ्कर थपलियाले बताउनुभयो ।
यसै स्थानमा एक दर्जनभन्दा धेरै जनावरको मुखबाट पानी आउने गरी मूर्ति निर्माण गरिएको छ । त्यससँगै पानीको फोहरा, थारू, बोटे संस्कृति देखाउने चित्र, पटिहानी सेल्फी स्थान निर्माण गरिएको छ । पटिहानी क्षेत्रमा मात्रै सानाठूला गरी ९५० बेड क्षमता भएका होटल रहेको अध्यक्ष थपलियाले जानकारी दिनुभयो । छिट्टै नै तीनवटा स्टार तहको होटल सञ्चालनको तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
पर्यटकीय क्षेत्र पटिहानीको प्रचारप्रसार गर्नका लागि फुड फेस्टिभलको आयोजना गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?