logo
२०८१ बैशाख १४ शुक्रवार



मोबाइलबाटै भन्सार जाँचपास

अर्थ |


मोबाइलबाटै भन्सार जाँचपास


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १३ गते । भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ । भन्सार बिन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार विभागले सुरु गरेको हो । आइतबार ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा राजधानीमा आयोजित औपचारिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त एप्स सार्वजनिक गर्नुभएको हो । ‘आसिकुडा मोबाइल क्लाइन्ट’ नाम दिइएको उक्त एप एन्ड्रोेइड अपरेटिङ सिस्टममा मात्र उपलब्ध छ । यो एप सर्वसाधारणले भने प्रयोग गर्न पाउने छैनन् । भन्सार अधिकृतले भन्सार परिसरमा मात्र यो एप्स प्रयोग गरेर जाँचपास गर्न सकिने सुविधा यसमा उपलब्ध छ । कम्प्युटरबाट मात्रै जाँचपास गर्नुपर्ने बाध्यतालाई यो एपले हटाउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो । भन्सार परिसरमा जहाँबाट पनि यो एप प्रयोग गरेर सजिलै जाँचपास गर्न सक्ने सुविधा थपिएको उहाँले बताउनुभयो ।
सम्बन्धित कर्मचारीले मात्र हेर्न सक्ने यो एपमा प्रज्ञापनपत्रको सूची, सवारीको प्रवेश रुट, प्रणालीले तोकेको जाँचकी परिवर्तन जस्ता काम गर्न सकिन्छ । त्यस्तै जाँचपास सकिएपछिको जानकारी, हरियो मार्गमा पठाउने आदेश, जाँचपासपछि सवारीलाई बाहिर पठाउनका लागि सूचना दिने जस्ता काम एपमार्फत नै गर्न सकिने विभागले जनाएको छ ।
विभागले आइतबार नै ‘लाइभ रेभेन्यु ड्यासबोर्ड’को पनि सुरुवात गरेको छ । देशभरका भन्सार कार्यालयबाट उठेको महसुल प्रत्यक्ष हेर्न सकिने सुविधा यसमा उपलब्ध छ । प्रत्येक घण्टा, प्रत्येक दिनको भन्सार महसुलको जानकारी केन्द्रीय तहबाट जुनसुकै समयमा लिन सकिने गरी ड्यासबोर्ड तयार गरिएको विभागले जनाएको छ । विभागले यसबाहेक अबको दुई वर्षभित्र कार्यान्वयनमा ल्याउने गरी ‘नेपाल नेसनल सिङ्गल विन्डो’ लागू गर्ने तयारी रहेको जानकारी दिएको छ । भन्सार बिन्दुमा रहेका सबै निकायसँगको सहकार्यमा यस्तो प्रणाली विभागले लागू गर्न लागेको हो । यो कार्यान्वयनमा आएपछि हरेक कार्यालयमा छुट्टाछुट्टै कागजात बुझाउनुपर्ने झन्झटबाट सेवाग्राही मुक्त हुनेछन् ।
‘डन्डा लगाएर राजस्व उठाउँदैनौँ’
अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई त्रसित बनाएर सरकारले काम नगर्ने स्पष्ट पार्नुभएको छ । सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभागका कामसँग व्यवसायी त्रसित भएको पाएकाले त्यस्तो काम सरकारबाट नहुने उहाँले बताउनुभयो । ६८औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा उहाँले गलत काम नगर्ने व्यवसायी त्रासमा बस्नु नपर्ने बताउनुभयो ।
व्यापार घाटा बढ्दा पनि विदेशी सञ्चिति घट्ने र व्यापार घाटा कम हुँदा राजस्वको लक्ष्य पु¥याउन सरकारले कसेर राजस्व उठाउँछ भन्ने त्रास निजी क्षेत्रमा देखिएको उहाँले बताउनुभयो ।
‘त्रास नमान्नुहोला, डन्डा लगाएर राजस्व उठाउँदैनौँ’ उहाँले भन्नुभयो । कानुनले तोकेको बाहेक अन्य क्षेत्रबाट सरकारले कर नउठाउने उहाँले स्पष्ट पार्नुभयो । उहाँले राजस्व घट्दा पनि चिन्ता नमान्ने अर्थमन्त्री भेटेकोमा खुसी हुन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । आन्तरिक उत्पादन बढेपछि आन्तरिक राजस्व पनि बढेकाले यसलाई सकारात्मक मान्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनको क्षेत्रमा पछिल्लो समय राम्रो सुधार भएको उल्लेख गर्नुभयो । सन्दर्भ मूल्यका विषयमा निजी क्षेत्रको चासोलाई जायज भन्दै उहाँले यसमा आवश्यक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आईसीपी सञ्चालन, निर्माणाधीन सुक्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माणले भन्सार प्रणालीमा सहजता ल्याउने उहाँले जानकारी दिनुभयो । भन्सार बिन्दुसँगै बैङ्क काउन्टर र भारु सटही काउन्टर राख्न उहाँले कार्यक्रममा निर्देशन दिनुभयो । त्यस्तै निजी क्षेत्रले सहज अनुभूत गर्ने गरी प्रशासन व्यवस्थापन गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । अर्थ सचिव डा. राजन खनालले भन्सार प्रणाली मुलुकी प्रशासन नभई अन्तर्राष्ट्रिय प्रशासन भएकाले अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले मूल्याङ्कन भएका कागजात सही किसिमले प्रस्तुत गर्न र सही तरिकाबाट ‘रेड च्यानल’ पास भए नभएको यकिन गर्न सुझाव दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले आईसीपीको उद्घाटन र भन्सारमा अनलाइनको प्रयोगले निजी क्षेत्र उत्साहित भएको बताउनुभयो । त्यस्तै उहाँले भन्सार राजस्वमुखी नभई व्यवसायमुखी हुनुपर्ने धारणा राख्नुभयो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले भन्सार दरकै कारणले चोरी पैठारीलाई प्रोत्साहित गरेको भए त्यसको अध्ययन गर्नुपर्ने बत(ाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?