logo
२०८१ बैशाख २० बिहीवार



वर्षाले ठूलो परिमाणमा इँटा नष्ट

अर्थ |


वर्षाले ठूलो परिमाणमा इँटा नष्ट



तुलसीपुर समाचारदाता

तुलसीपुर, पुस २५ गते । मङ्सिर र पुसमा परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा ठूलो क्षति भएको छ । प्रारम्भिक जानकारी अनुसार दाङमा रहेका ३६ वटा इँटा उद्योगमा तीन करोड ५० लाख काचो इँटा पूर्ण रूपमा गलेर नष्ट भएको दाङ जिल्ला इँटा व्यवसायी समितिका अध्यक्ष रोम वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट व्यवसायीले एघार करोड रुपियाँभन्दा बढीको क्षति बेहोर्नु परेको छ ।
पकाउन तयारी अवस्थामा राखिएको भट्टीमा समेत पानी परेका कारण क्षतिको रकम अझै बढ्ने अध्यक्ष वलीले जानकारी दिनुभयो । जिल्लाका ३६ वटै इँटा उद्योगको क्षतिको पूर्ण विवरण नआएकाले क्षति बढ्न सक्ने अध्यक्ष वलीले जानकारी दिनुभयो ।
एउटा काँचो इँटा तयार पार्न तीन रुपियाँ लगानी गर्नुपर्ने इँटा व्यवसायी समितिका सचिव प्रेमनाथ योगीले जानकारी दिनुभयो । इँटा पार्ने समय सुरु हुनासाथ यस वर्ष वर्षा भएका कारण इँटाको मूल्यसमेत बढ्न सक्ने अध्यक्ष वलीले जानकारी दिनुभयो ।

बाँकेमा तीन करोडको क्षति
यस्तै बाँके समाचारदाताका अनुसार वर्षाले बाँकेमा लाखौँ काँचा इँटा नष्ट भएका छन् । इँटा व्यवयासी सङ्घ बाँकेका अध्यक्ष जैनुल खानका अनुसार बाँकेमा रहेका ५२ वटै इँटा उद्योगमा वर्षाका कारण क्षति भएको छ । वर्षाले घाममा सुकाएको काँचो इँटामा र भट्टामा पोल्न राखेको इँटा गलाएर नोक्सान पारेको अध्यक्ष खानले जानकारी दिनुभयो । एउटा वर्षाले क्षति पु¥याएको अवस्थामा फेरि सामान्य अवस्थामा आउने क्रममा अर्को वर्षाले क्षति भएको छ, अध्यक्ष खानले भन्नुभयो, विगतभन्दा अहिले बढी वर्षा भएका कारण क्षति बढेको छ ।
बाँकेको खजुराका इँटा व्यवसायी दीपक अधिकारीले आफ्नो भट्टामा तयार पारिएका करिब १९ लाख इँटा नष्ट भएको जानकारी दिनुभयो । घाममा सुकाएको र इँटा र भट्टाभित्रको गरी करिब ७० लाख रुपियाँको नोक्सानी बेहोर्नु परेको अधिकारीले बताउनुभयो । इँटा व्यवसायी सङ्घ बाँकेले प्रारम्भिक चरणमा वर्षाबाट तीन करोड रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?