logo
२०८१ बैशाख १४ शुक्रवार



छुर्पी नै छुर्पीको बजार मुडे

अर्थ |


छुर्पी नै छुर्पीको बजार मुडे


चित्र मिजार

सिन्धुपाल्चोक, मङ्सिर २६ गते ।  सिन्धुपाल्चोकको लिसङ्घुपाखर गाउँपालिका अन्तर्गतको मुडे बजारका सबै घर र पसलमा छुर्पी नै छुर्पी पाइने गरेको छ । मुडेमा करिब सयभन्दा बढी पसल छन् । ती सबै पसलमा लेकमा उत्पादन भएका चौँरीको दूधबाट उत्पादन भएका छुर्पी पाइन्छ । प्रत्येक पसलमा छुर्पीका लहरा नै लहरा झुन्ड्याइएको छ । जिरी, ओखलढुङ्गाबाट राजधानी जाँदै गरेका र राजधानीबाट भ्रमणमा आएकाको पहिलो रोजाइमा छुर्पी पर्ने भएका कारण मुडेका प्रत्येक पसलमा छुर्पीको लहरा र गोदाम नै पाइने गरेको छ ।
दोलखा भीमसेन मन्दिर, कालिञ्चोक मन्दिरलगायतका मन्दिर धाउने तीर्थालु र अन्तर्राष्ट्रिय फिल्म नगरीमा खरीढुङ्गा र विभिन्न पर्यटकीय क्षेत्र भ्रमणमा आएका पर्यटक मुडेको छुर्पी भनेपछि हुरुक्क हुने भएपछि बजारभरि लेकाली छुर्पी अत्यधिक मात्रमा राख्न थालिएको मुडे बजारमा छुर्पी बेचिरहनुभएका उत्तरबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
मुडेको छुर्पी धेरै स्वादिलो र मीठो भएका कारण पनि राजधानीबाट छुर्पीको अर्डर नै आउने गरेको छुर्पी व्यापारीसमेत रहेका श्रेष्ठले बताउनुभयो । मुडे बजारमा दैनिक सयौँ किलो छुर्पी बिक्रीवितरण गरेर स्थानीयले मनग्गे आम्दानी हात पार्दे आएको पनि उहाँले बताउनुभयो । दोलखा जिल्लाको शैलुङ्गेश्वरी गाँउपालिकाको लेकाली क्षेत्रबाट चौँरीपालक किसानले शुद्ध दूधलाई फटाएर छुर्पी बनाएर मुडे बजारमा हजारौँ किलो ल्याउने गर्छन् । किसानबाट मुडे बजारका व्यापारीले सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गरेको स्थानीय पशुपति लामाले बताउनुभएको छ ।
हिमाली क्षेत्रका चौँरीले जडीबुटी खाएका कारण दूध पोषिलो हुने गरेको र सोही दूधबाट छुर्पी उत्पादन गरिएका कारण छुर्पी महँगोमा उपभोक्ताले किन्ने गरेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?