logo
२०८१ बैशाख १४ शुक्रवार



६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने

अर्थ |


६३५ मेगावाटको दूधकोसी आयोजना बन्ने


गोपालचन्द्र सुवेदी   

काठमाडौँ, मङ्सिर २४ गते । नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर)लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ भने वित्तीय व्यवस्थापनका लागि पनि सक्रियता बढाएको आयोजनाले जनाएको छ ।
खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पु¥याउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । त्यस्तै बाँधस्थलनजिकै अर्को विद्युत्गृहबाट थप ३५ मेगावाट विद्युत् उत्पादन गर्न खोजिएको छ । यसअघि भूमिगत विद्युत्गृह बनाएर ८३५ मेगावाट उत्पादन हुनसक्ने देखिएकामा आर्थिक तथा अन्य कारणले ६३५ मेगावाट नै बनाउने निष्कर्षमा प्राधिकरण पुगेको छ । ८३५ मेगावाटमा बनाउँदा वित्तीय प्रतिफल अनुपात ९.२ प्रतिशत र ६३५ मेगावाटमा बनाउँदा ९.६ प्रतिशत हुने अनुमान प्राधिकरणको छ ।
आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार अहिले परामर्शदाताले डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन जनवरी अन्त्यसम्ममा बुझाउने छ । आयोजनाको इटालियन परामर्शदाता ईएलसी इलोक्ट्रो कन्सल्टले जापानको न्युजेकसँगको सहकार्यमा अध्ययन गरिरहेको छ । सम्झौताअनुसार परामर्शदाताले मङ्सिर २ भित्र बुझाउनुपर्ने कार्यसूची थियो ।
प्रतिवेदनहरू प्राप्त हुनासाथ सोअनुसार लगानीको मोडालिटीका विषयमा छलफल गर्ने तयारी प्राधिकरणको छ । पछिल्लो अध्ययनअनुसार आयोजनाको कुल लागत १.५५ अर्ब अमेरिकी डलर (१ खर्ब ७५ अर्ब रुपियाँ) रहेको छ । यसमध्ये एसियाली विकास बैङ्कले आयोजनाका लागि ५५ करोड डलर लगानीको प्रतिबद्धता जनाएको छ । परामर्शदाताको प्रतिवदेन प्राप्त भइनसकेकाले वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन र कम्पनीको कार्यक्रममा मोडालिटी टुङ्ग्याउन सकिएको छैन । “सम्भावित लगानीकर्तासँग अनौपचारिक छलफल भइरहेको छ तर डीपीआर प्राप्त नभएकाले निश्चित रूप पाउन सकेको छैन,” आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजना निर्माणका लागि गर्नुपर्ने ठेक्का सम्झौताका डकुमेन्ट तयारी पनि गरिरहेका छाँै ।”
सन् २०२१ जनवरीदेखि निर्माण थाल्ने भनिएको सो आयोजना निर्माण सुरु भने केही ढिला हुने देखिएको छ । डीपीआर लगायतका प्रतिवेदन अध्ययन, वित्तीय व्यवस्थापन, ठेक्का प्रक्रिया लगायतका काम एक वर्षभित्रै सम्पन्न गर्न समय अभाव हुने भएकाले केही महिना पछि धकेलिने सम्भावना छ ।
रभुँवाघाटमा बाँध बाँधी ताल निर्माण गरेर जम्मा गरिएको पानी सुरुङमार्फत १३.३ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने विद्युत्गृहमा पानी खसाल्ने र सो पानी सुनकोसीमा पुग्नेछ । रभुँवाघाटमा २२० मिटर अग्लो र ६३० मिटर लामो बाँघ बाँधेर जलाशय बन(ाइनेछ ।
बाँधका कारण जलाशयदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा दस किलोमिटर, खोटाङतर्फको रावाखोलामा आठ किलोमिटर र ओखलढुङ्गाको ठोट्नेखोला किनारसम्म चार किलोमिटर क्षेत्रफल समेटिने देखिएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका करिब १६२ घर विस्थापित हुने प्रारम्भिक अनुमान रहेकोे आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?