logo
२०८१ बैशाख १५ शनिवार



फलाम खानीको अनुसन्धान गर्न भूगर्भविद्को टोली तनहुँमा

अर्थ |


फलाम खानीको अनुसन्धान गर्न भूगर्भविद्को टोली तनहुँमा


अमरराज नहर्की
तनहुँ, कात्तिक २८ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको फलाम खानी भूगर्भविद्को चासोमा परेको छ । वडा नम्बर –१० ढोरमा रहेको फलाम खानीबारे अध्ययन गर्न भूगर्भ विदको टोली आईपुगेको शुक्लागण्डकी नगरपालिका मेयर किसान गुरुङले जानकारी दिनुभयो । क्षेत्रमा रहेका विभिन्न स्थानमा फलाम खानीको उत्खननका लागि भूगर्भविदहरुको टोलीले सम्भाव्यता अध्ययन शुरु गरेपछि स्थानीय वासिन्दामा खुसी छाएको मेयर गुरुङ बताउनुहुन्छ ।

उद्योग मन्त्रालयबाट खटाइएका भूगर्भविदसहित ४ जनाको टोली र केहि स्थानीय कामदार पनि अध्ययन तथा अनुसन्धान कार्यमा संलग्न रहेको नगरपालिकाले जनाएको छ । कात्तिक २० गते देखि इलेक्ट्रिकल रेसिस्टिभिटी प्रविधि मार्फत् उक्त फलाम खानीको सम्भाव्यता अध्ययन भइरहेको भूगर्भविद ठाकुर कँडेलले जानकारी दिनुभयो ।

यो प्रविधिबाट जमिनमा करेण्ट पठाउने र करेण्टले चित्र बनाउँछ भने सोही चित्रको आधारमा फलाम छ कि छैन भनेर अध्ययन भईरहेको उहाँको भनाई छ । यस अघि पनि दुई पटक उक्त फलाम खानीको सम्भाव्यता अध्ययन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुसार पहिलो चरणमा फलाम भएका क्षेत्र कुन हो भनेर नक्सा कोरिएको र कुन चट्टानमा फलाम बसेको छ भनी अध्ययन गरिएको थियो भने दोस्रो चरणमा चट्टानमा कति प्रतिशत फलाम छ भनेर ल्याब टेष्ट गर्नका लागि पठाइएको थियो ।

उक्त रिपोर्ट भने आउन बाँकी छ । भूगर्भविद कँडेलका अनुसार उक्त क्षेत्रमा १० दिनसम्म अध्ययन हुनेछ भने संकलित तथ्यांक भूगर्भ विभागमा बुझाएपछि विभागले प्रतिवेदन अध्ययन गरेर थप प्रक्रिया शुरु गरिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?