logo
२०८१ बैशाख १४ शुक्रवार



हुम्लामा कृषि बालीको उत्पादन १५ प्रतिशतसम्म वृद्धि

अर्थ |


हुम्लामा कृषि बालीको उत्पादन १५ प्रतिशतसम्म वृद्धि


हुम्ला समाचारदाता
सिमकोट, कात्तिक २५ गते । हुम्ला जिल्लामा उत्पादन हुने अर्गानिक बालीहरु १० देखि १५ प्रतिशतसम्म वृद्धि भएको पाइएको छ । बालीमा कुनै रोग किरा नलाग्नु र आवश्यकता अनुसार बेला बेलामा पानी पर्नुले जिल्लामा उत्पादन हुने सबै बालीको उत्पादनमा वृद्धि भएको हो ।

गतवर्ष चार क्विन्टल कोदो उत्पादन गर्नुभएका सर्केगार्ड गाउँपालिका वडा नं. ३ का किसान दानबहादुर फडेराले यसपाली ६ क्विन्टलसम्म कोदो उत्पादन भएको र धान पाँच क्विन्टलसम्म उत्पादन भएको बताउनुभयो । यति र उति भन्न नसके पनि यसपाली अधिकांस बालीको उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । आफूमात्र नभएर गाउँहरु सबैले राम्रो अन्न पाएको उहाँको भनाई छ ।

यता नाम्खा गाउँपालिका वडा नं. ३ का किसान छिरिङ लामाले ९ क्विन्टल फापर उत्पादन भएको बताउनुभयो । जब कि गतवर्ष उहाँले पाँच क्विन्टल उत्पादन गरेर चित्त बुझाउनुभएको थियो । यसपाली फापर राम्रो फलेकोले किसानहरु निक्कै खुसी रहेको उहाँले बताउनुभयो । यता चंखेली गाउँपालिका वडा नं. २ का किसान हंश शाहीले यसपाली पनि राम्रो उत्पादन भएको उल्लेख गर्नुभयो । उहाँले करिब तीन क्विन्टल धान पाउनुभएको छ । जब कि गत वर्ष उहाँले एक क्विन्टलमा चित्त बुझाउनु परेको थियो ।

यसपाली हुम्ला जिल्लाभरी चार हजार ७६५ हेक्टर जमिनमा जिल्लामा उत्पादन हुने सबै बाली लगाएको कृषि विकास कार्यालयका प्रमुख चन्द्रभुषण झाले बताउनुभयो । हुम्लामा कुल खेती योग्य जमिन आठ हजार २९२ हेक्टर रहेको छ । यसवर्ष हुम्लामा उत्पादन हुने कोदो, फापर, चिनो धान, सिमी, आलु, मकै, कागुनो र मिठे फापर लगायतका बालीहरुमा १० देखि १५ प्रतिशतसम्म उत्पादनमा वृद्धि भएको उहाँले जनाउनुभयो ।

यसको मुख्य कारण उत्पादन भएको बेला बालीमा कुनै किसिमका रोग किरा नलाग्नु र आकाशे पानीको भरमा भए पनि आवश्यक परेको बेला पानी परिरहँदा बाली सप्रेको उहाँले बताउनुभयो । सँधै हुम्लामा भोकमरी समस्या हुँदै आएकोमा त्यसलाई न्यूनिकरण गर्न अहिले वृद्धि भएको अन्नले सहयोग पु¥याउने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?