logo
२०८१ बैशाख २६ बुधवार



महासङ्घको नेतृत्व विवाद टुङ्गियो

अर्थ |


महासङ्घको नेतृत्व विवाद टुङ्गियो


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २५ गते । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयन विवाद टुङ्गिएको छ । महासङ्घको आइतबार सम्पन्न कार्यकारी समितिको बैठकले पदाधिकारी चयनसम्बन्धी व्यवस्था यथावत् राख्ने र विधान संशोधनका लागि प्रस्तावित कात्तिक २९ गते बोलाइएको विशेष साधारणसभा पनि स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै सङ्घको आगामी कार्यकालका लागि अध्यक्ष शेखर गोल्छा निर्वाचित हुने निश्चित भएको हो ।
महासङ्घको आइतबारको बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घको विधान २०४९ को छैटौँ संशोधनसहित अन्य संशोधनका लागि कात्तिक २९ गते हुने भनिएको साधारण सभा रोकिएकोे परिपत्र आफ्ना सदस्यलाई पठाएको छ ।
विधानमा अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति आउँदो कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । यही प्रावधानअनुसार अहिलेको कार्यकालमा अध्यक्षमा भवानी राणा चयन हुनुभएको थियो भने वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचनबाट चयन हुनुभएको थियो ।
महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार संस्थालाई अझै सङ्गठित र बलियो बनाउनका लागि विधानको विद्यमान व्यवस्था नै उपयुक्त रहेको ठहर बैठकले गरेको थियो । “निजी क्षेत्रको छाता सङ्गठनको साखमा कुनै क्षति नहोस् भन्ने निष्कर्षसहित हामीले विशेष साधारण नगर्ने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो ।
पछिल्लो समय अध्यक्ष स्वतः हुने व्यवस्था अनुपयुक्त भन्दै महासङ्घका केही पदाधिकारीले संशोधनको माग राख्दै आएका थिए । सो मागलाई संशोधन गर्दै महासङ्घले पूर्वअध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा समिति गठन यरेको थियो तर विवादले संस्थाको साखमै असर पर्ने महसुस गर्दै विधान संशोधन समितिको शुक्रबारको बैठकले विशेष साधारण सभा नगर्ने निर्णय गरेर कार्यसमितिसमक्ष निर्णयार्थ पेस गरेको थियो ।
महासङ्घले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचना तयार गर्नेलगायतका अन्य एजेन्डा नियमित साधारण सभाको एजेन्डाका रूपमा राख्ने निर्णय पनि गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?