logo
२०८१ बैशाख १४ शुक्रवार



स्वादिलो आलुको उत्पादन घट्दै

अर्थ |


स्वादिलो आलुको उत्पादन घट्दै


तारा चापागाई दुवे

कास्की, कात्तिक २५ गते । स्वादिलो आलुका रूपमा निकै प्रख्यात हेम्जाको आलुको उत्पादन बर्सेनि घट्दै गएको छ ।
खान स्वादिलो भए पनि आलुमा डढेलो रोगको प्रकोप बढेसँगै किसानले आलु कम रोप्न थालेका हुन् भने किसानले आलुको गुणस्तरीय बीउ नपाएकाले पनि उत्पादनमा कमी आएको कृषि प्राविधिकहरूको भनाइ छ । हेम्जाको आलु प्रख्यात भए पनि कास्की जिल्लाका हरेक क्षेत्र आलु उत्पादन हुने गर्छ । हरेक वर्ष १६ हजार टनभन्दा बढी आलु उत्पादन हुने यस जिल्लामा हरेक वर्ष उत्पादन घट्दै गएको पाइएको छ । विगतको तुलनामा उत्पादन घट्दै गएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, बीउको गुणस्तरीयता नहुँदा, जग्गा पल्टिङ गर्ने प्रवृत्ति बढ्दै जाँदा, कतिपय ठाउँमा आलु राम्रो उत्पादन हुने जग्गा बाँझो हुँदा, डढुवा रोगको प्रकोपलगायतका कारणले आलुको उत्पादन हरेक वर्ष कम हुँदै गएको छ ।
उहाँले भन्नुभयो, झण्डै दुई दशकदेखि किसानले एउटै बीउ लगाउँदै आएका छन् । बीउ परिवर्तन नगरे उत्पादनमा पूर्ण रूपमा ह्रास आउने स्थिति देखिएपछि पछिल्लो पटक सरकारले निलो आलु भनेर चिनिने बीउ एमएस ४२ जातको आलुलाई सूचीकृत गरी बीउ उत्पादनका लागि तन्तु प्रजनन विधिद्वारा शुद्ध बीउ उत्पादन गर्ने काम भइरहेको छ ।
उहाँका अनुसार पोखरा महानगरपालिकाले मूल बीउ दोस्रो पुस्ताको ल्याएर किसानलाई बीउ उत्पादनका लागि वितरण गरेको र किसानले उत्पादन गरेको सोही बीउ किसानबाट ६० रुपियाँमा खरिद गरी १० रुपियाँ अनुदानसहित ५० रुपियाँमा कृषकलाई नै दिइँदै आएको छ । सो बीउ ५० रोपनीमा उत्पादन गरेको उक्त २५ हजार केजी बीउले ३६० रोपनीलाई पुग्ने उहाँले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष पोखरा महानगरपालिकामा कुल एक हजार ७०० हेक्टरमा आलु लगाउँदा प्रतिहेक्टर १६ टन आलु उत्पादन भएको थियो । यो वर्ष पनि केही घट्न सक्ने उहाँको अनुमान छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?